काठमाडौं, ११ जेठ । नेकपा एमाले औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकबाट १० जेठमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतामाथि कारबाहीको डन्डा चलाएका छन् । थप १२ जना नेतामाथि कारबाहीको तयारी भएको छ ।
यो घटनासँगै एमालेबाट अर्को दल खोल्ने माधव नेपालको तयारी खुलिसकेको छ । नेपाल स्वयंले त्यसको संकेत आज अपिलमार्फत् गरेका छन् ।
ओलीको कारबाहीको सूचीमा नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित बामदेव गौतमको नाम भने छैन । गौतम ओलीको पछिल्लो गतिविधिको चर्को आलोचना गर्दै आएका छन् । उनले एमाले मात्र नभई कम्युनिस्ट एकता अभियान नै चलाएका छन् ।
गौतमले पछिल्लो घटनाबारे कुनै प्रतिक्रिया दिइसकेका छैनन् । उनी कुन पक्षमा रहने स्पष्ट भएको छैन । तर, उनी माधव नेपालसँग नियमित सम्पर्कमा रहेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले प्रतिनिधि सभा पुनःस्थापना हुनेमा गौतम ढुक्क छन् । उनले अदालतको फैसला आएपछि मात्र कदम चाल्ने तयारी गरेको बुझिएको छ ।
अझैपनि गौतम एमाले एकता जोगाउन सक्रिय छन् । उनले विगतमा पनि २८ फागुन २०७७ को ओलीको निर्णय फिर्ता लिई एमालेलाई फुटबाट जोगाउन प्रयास गरेका थिए । तर, सफल हुन सकेनन् । यसपटक पनि उनी सफल हुने सम्भावना कम छ । त्यसपछि उनी ओली पक्षमा लाग्लान् या माधव पक्षमा ? यो चासोको विषय छ ।
नवौं महाधिवेशनमा गौतमले ओलीलाई अध्यक्षमा जिताउन मुख्य भूमिका खेलेका थिए । माधव नेपाललाई झीनो मतान्तरले पराजित गरेका ओलीलाई गौतमले मात्र नभई झलनाथ खनालले पनि साथ दिएका थिए । तर, गौतम र खनाल दुवैलाई ओलीले बेवास्ता मात्र गरेनन् खनालमाथि कारबाहीको डन्डा नै चलाए ।