Logo

अस्पतालमा घट्यो विरामीको चाप



राँझा, ११ जेठ: बाँकेमा कोरोना सङ्क्रमण दर घटेसँगै कोरोना उपचार केन्द्रको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा कोरोनाका विरामीको चाप घट्दै गएकोे छ । अहिले बाँके जिल्लाभन्दा धेरै अन्यत्र जिल्लाबाट ‘रिफर’ भई आउने विरामीको सङ्ख्या बढि हुने गरेको डा. थापाले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पुरै भरिएर अस्पतालले इमरजेन्सी कक्ष र त्रिपाल टाँगेर अस्थायी शय्यामा समेत गरी करिब तीन सय सङ्क्रमितलाई उपचार गर्दै आएकोमा अहिले शय्याहरु खाली हुँदै गएका छन् ।

“अहिले बाँकेका भन्दा पहाडी जिल्लाबाट आउने विरामीको सङ्ख्या बढी छ, पहिलेको तुलनामा अहिले अवस्था सामान्य हुँदै गएकोे छ”, डा.थापाले भने,“अहिले भेरी अस्पतालमा बेडको अभावका कारण भुईंमा सुतेर उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

बाँकेमा आइतबार चार सय ५२ जनाले कोरोना जितेर निको हुँदा एक सय १४ जना सङ्क्रमित थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा तीन सय ६८ जनाको परीक्षण गर्दा दुई सय ६५, शिक्षण अस्पताल कोहलपुरमा एक सय १२ जनाको जाँच गर्दा ३६ र बागेश्वरी ल्याबमा एक सय ९० जनाको जाँच गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो ।-रासस



प्रतिक्रिया दिनुहोस्