काठमाडौं, ११ जेठ । मंसिरमा चुनाव होस् या नहोस् प्रचण्ड र माधव नेपाल मिलेर नयाँ कम्युनिस्ट शक्ति निर्माणको पूर्वतयारी भइसकेको छ । उनीहरुले वैशाखमै यो योजनालाई तयारी अवस्थामा राखेका थिए । सबै कुरा नेकपा विभाजन हुँदा नै मिलेको थियो । विकसित घटनाक्रमसँगै पूर्वयोजनाको दृश्य देखिन मात्र बाँकी हो ।
प्रचण्डले विघटन गरेको भनिसकेको माओवादी केन्द्र ब्युँतिएको छ । यसमा उनलाई चित्त बुझेकै छैन । अदालतप्रति बेला बेलामा असन्तुष्टि जनाउने गरेका छन् । माधव नेपाललाई पनि एमाले ब्युँतिएको चित्त बुझेको छैन । उनले पनि यसप्रति असन्तुष्टि पोख्दै आएका छन् ।
नेकपा छँदा ओलीसँग मिलेर संघर्ष गरेका प्रचण्ड र नेपालले मिलेर ओलीलाई पार्टीबाट निष्काशन गरेको निर्णय सम्म गरेका थिए । तर, २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको आदेशले नयाँ घटना विकास गरेको थियो । नेपाल एमालेमै बसेर संघर्ष गर्ने निष्कर्षमा पुगे । एमालेमा त पुगे तर उनको निरन्तर शक्ति क्षय भयो ।
ओलीको पेलाईमा परेर नेपालले गर या मरको अवस्थामा पुगेको सम्म भने । त्यसपछि उनीनिकट सांसदहरुको विद्रोह सुरु भयो । ओलीलाई तल्लो तहदेखि माथिल्लो तहसम्म धक्का दिन थाले । ओली सरकार ढाल्न नेपाल अघि सरे । २६ सांसद लिएर अघि सरेका उनको साथमा अन्तिममा २३ मात्र बाँकी रहे ।
नेपालमाथि ओलीले कारबाहीको डन्डा चलाए । १० जेठमा स्थायी कमिटी बैठक डाकेर माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना नेतालाई पार्टीबाट निष्काशनको निर्णय भयो । १२ जनामाथि कारबाहीको प्रक्रिया बढाइएको छ ।
११ जेठमा माधव नेपालले कम्युनिस्ट पार्टी पुर्नजागरणको अपिल गरे । उनले गोलबन्द हुन समेत भने । नेपालले वृहत कम्युनिस्ट पार्टी गठनको संकेत गरेका छन् । त्यसको अग्रिम तयारी भइसकेको छ ।
एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरी ऋषि कट्टेल अध्यक्ष रहेर दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी नै राख्ने पहल पनि भएको छ । कट्टेल मान्ने सम्भावना कम भएकाले विकल्प समेत तयार छ । कलम चिन्ह मागेर नेकपा एकीकृत दर्ताका लागि निवेदन दिइएको छ । निर्वाचन आयोगमा निवेदन दिइएको दल दर्ता प्रक्रियामा छ । दर्तामा अगाडि बढ्नेहरु नेपाल निकट हुन् ।
विश्वस्त स्रोतका अनुसार कलम चिन्ह र नेकपा एकीकृत नामको नयाँ दल गठन गरेर नेपाल अगाडि बढ्ने तयारी भएको छ । प्रचण्ड पनि सोही दलमा गोलबन्द हुने योजना बनेको छ । चुनाव भएपनि नभएपनि नेकपा एकीकृतमा प्रचण्ड र माधव नेपालको अध्यक्षतामा रहने गरी तयारी भएको छ । चुनावमा प्रचण्ड, माधव नेपालका अलावा नेकपा माले, राष्ट्रिय जनमोर्चालगायत कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन बन्ने रणनीति समेत अहिले देखिनै बनाइएको विश्वस्त स्रोतले बताएको छ । उनीहरु जसरी हुन्छ ओलीलाई एक्लाउने रणनीतिका साथ बढेका छन् ।