Logo

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको पेशी तोकियो, बिहिबार र शुक्रबार सुनुवाई



काठमाडौं, ११ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध १४६ सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहिबार र शुक्रबार सुनुवाई हुने भएको छ । बिहिबार संवैधानिक इजलाशमा सुनुवाईको माग नगरेका निवेदकहरुको रिटमाथि सुनुवाई हुने तय भएको छ । शुक्रबार संवैधानिक इजलाशमा सुनुवाईको माग गरेकाहरुको रिटमाथि सुनुवाई हुने भएको छ ।

संवैधानिक इजलाशमा सिधै सुनुवाई माग गरिएकाले सोही दिन नै इजलाश गठन हुनेछ । इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना सर्वोच्च अदालतका न्यायाधीशहरु रहने व्यवस्था छ । बुधबार सार्वजनिक बिदा परेकाले बिहिबारबाट सुनुवाई हुने भएको हो ।

प्रतिनिधि सभा विघटनको कदमविरुद्ध र शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री बनाउन माग गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका लागि १४६ जना सांसदले रिट दायर गरेका थिए । रिटबारे सर्वोच्चले कस्तो आदेश दिने हो ? चासोको विषय बनेको छ ।

यसअघि ५ पौषमा प्रतिनिधि सभा विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममाथि संवैधानिक इजलाशमा सुनुवाई भएको थियो । इजलाशले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै पुनःस्थापनाको फैसला सुनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot