काठमाडौं, १२ जेठ । सरकारले निषेधाज्ञामा थप कडाई गरेको छ । हिंडडुल समेत अत्यावश्यकबाहेकको अवस्थामा निषेध गरिएको छ । किराना पसलसमेत एक हप्ता बन्दको आदेश हिजोबाट काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट आएको छ ।
निषेधाज्ञाको अवज्ञा गर्नेलाई ५ लाखसम्म जरिवाना छ । मास्क नलगाउनेलाई समेत जरिवानाको व्यवस्था गरिएको छ ।
अत्यावश्यकबाहेकका सेवा ठप्प पार्ने सरकारको निर्णय कोरोना भाइरसको महामारीबाट नागरिकलाई जोगाउनका लागि आएको भनिएको छ । तर, निषेधाज्ञा नागरिकलाई मात्र लागेको देखिदैछ । राजनीतिक दलका नेताहरुलाई निषेधाज्ञाले छोएको छैन । सत्ता संघर्षका लागि उनीहरुको आवतजावत चलिरहेको छ । सर्वोच्च अदालतमा नेताहरुको भीड नै लाग्यो । जब कि सरकारले भीड गर्न नपाइने भनेको छ ।
होटल, रेष्टुरेन्टहरु बन्दको आदेश आएपनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधर सांसदहरु एमाले नेता महेश बस्नेतको व्यवस्थापनमा डोलेश्वर रिसोर्टमा पुगे । त्यहाँ ३० जेठको राति अबेरसम्म बसेका थिए । डोलेश्वर रिसोर्टमा बसेको र खाएको बिलसमेत आइसकेको छ ।
कोरोना महामारी बढिरहँदा नेताहरुको भेटघाट चलिनै रहेको छ । उद्देश्य मात्र सत्ता ढाल्ने र बनाउनेमै केन्द्रित छ ।