काठमाडौं, १२ जेठ । नयाँ संविधानको विरोध गर्ने शक्तिहरुबीचको एकताले निर्माण भएको जनता समाजवादी पार्टी छिन्नभिन्न हुने दिशातर्फ बढेको छ । रोचक पक्ष यो छ कि जसपा कुनै सैद्धान्तिक विषयमा नभई व्यक्तिलाई प्रधानमन्त्रीमा साथ दिने या नदिने विषयमा फुटको संघारमा पुगेको हो । त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको या नगरेको विषय ।
कुनैबेला मधेश केन्द्रित दलहरुले सबैभन्दा ठूलो मधेशविरोधीको ट्याग लगाएका ओलीलाई जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टी नै जोखिममा पारेर साथ दिइरहेको छ । ठाकुरको यो कदमविरुद्ध अध्यक्ष उपेन्द्र यादवले स्पष्टिकरण सोधेका छन् । फेरि ठाकुरले उपेन्द्र यादवलाई स्पष्टिकरण सोधेका छन् । स्पष्टिकरणको जुहारी जसपामा चलेको छ ।
जसपाभित्र स्पष्टिकरणको जुहारीले कुनैपनि बेला फुटको वातावरण विकास गरिरहेको छ । यो फुटले जसपा विभाजित मात्र नभई छिन्नभिन्न हुने सम्भावना बढेको छ ।
जसपाभित्र अहिले विभिन्न गुट र उपगुट विकास भइरहेको छ । ओलीलाई साथ दिने या नदिनेबारे ध्रुवीकृत जसपाभित्र ती गुटमा पनि उपगुट छन् ।
जसपामा महन्थ ठाकुर पक्षभित्र राजेन्द्र महतोको पकड बलियो छ । ठाकुर समूहमा शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवको फरक समूह छ ।
उपेन्द्र यादवसँग डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव र मोहम्मद इस्तियाक राई जस्ता हस्तीहरु छन् । उनीहरुको फरक गुट छ । जसपा विभाजित भएमा तासको घर जसरी गर्लामगुर्लुम ढल्ने सम्भावना बढेको छ । जसपा जसरी विभिन्न पार्टी र समूह मिलेर निर्माण भएको हो त्यही अवस्थामा पुग्न सक्ने सम्भावना छ ।
महन्थ ठाकुर समूहका गुट
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव
उपेन्द्र यादव समूहका गुट
डा.बाबुराम भट्टराई
अशोक राई
महेन्द्र राय यादव
मोहम्मद इस्तियाक राई