Logo

१५ जनाको ६ घन्टा भर्चुअल बैठक, अदालतको फैसलापछि ठोस कदम



काठमाडौं, १२ जेठ । नेकपा एमालेबाट निष्काशित, कारबाहीको प्रक्रियामा रहेका र मध्यमार्गी भूमिका निभाइरहेका गरी १५ जना मङ्गलबार बैठक बसेका थिए । कोरोना भाइरसको महामारीका कारण प्रत्यक्ष नभई भर्चुअल बैठक राखिएको थियो ।

विहान ९ देखि दिउँसो ३ बजेसम्म माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित नवौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेकाहरुले धारणा राखेका थिए । सबैले अध्यक्ष केपी शर्मा ओलीको कदमको चर्को आलोचना गरे । ओलीको कदम एमालेलाई छिन्नभिन्न पार्ने दिशातर्फ उन्मुख रहेको निष्कर्ष निकाले । त्यसका विरुद्ध सशक्त रुपमा बढ्ने गरी रणनीति बनाउने तय भयो ।

माधव नेपालसहित ११ जनालाई निष्काशन गरिएको र १२ जनालाई निष्काशनको तयारी गरिएकोबारे समेत चर्चा भयो । नयाँ ढंगले गोलबन्द भएर जानुपर्ने निष्कर्ष समेत निकालियो । सबै विकल्पमा छलफल भएकोमा मध्यमार्गी बाटोमा कतिपय नेताहरुले जोड दिए ।

गोकर्ण बिष्टले अन्तिम समयसम्म पार्टी फुटाउन नहुनेमा जोड दिए । उनले २ जेठ २०७५ को पूर्ववत् अवस्थामा पार्टीको संगठनलाई फर्काउने बटमलाइन हुनुपर्ने बताए । तर, पार्टी फुटाइहाल्ने पक्षमा नरहेको स्पष्ट पारे ।

योगेश भट्टराईले पनि नयाँ दल खोल्नेतर्फ जान नहुने, पार्टीलाई एकतावद्ध बनाएर जानुपर्नेमा जोड दिए । उनले ओलीको सशक्त विरोध गर्दै दबाब सृजना गर्नुपर्ने तर्क राखे । संयम भएर जानुपर्ने भट्टराईको भनाई थियो ।

भीम रावलले भने ओलीको कदमलाई हाँस्यापद भन्दै सशक्त प्रतिवाद गर्नुपर्ने बताए । उनले ओलीको कदमविरुद्ध विद्रोह जारी रहेको भन्दै पार्टी विभाजन ग्रान्डडिजाइनमा गर्न खोजिएकोतर्फ सचेत हुनुपर्ने बताए । ओलीले सत्ता जोगाउन राष्ट्रघाती कदम चाल्न थालेको भन्दै सचेत भई विरोधमा उत्रनुपर्नेमा जोड दिए ।

झलनाथ खनालले ओलीको कदमले उनलाई नै कमजोर बनाएको भन्दै सिद्धान्त, नीति नियम सबैलाई कुल्चेको विषयको वर्णन गरे । वृहत्तर कम्युनिस्ट एकतामा खनालको जोड थियो ।

माधव नेपालले कम्युनिस्ट पार्टीहरुलाई फुटाउने षड्यन्त्र भएको र नेकपा पनि फुटाइएको भन्दै नयाँ ढंगले बढ्नुपर्नेमा जोड दिए । उनले कम्युनिस्टहरु गोलबन्द भई बढ्ने गरी तयारी गर्नुपर्ने बताए ।

अधिकांश नेताहरुले सर्वोच्च अदालतमा दायर रिटको फैसला पर्खनुपर्नेमा जोड दिएको बुझिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि आजबाट सुनुवाई हुँदैछ । यसको छिनोफानो लागेपछि मात्र माधव नेपाल समूहले ठोस कदम चाल्नेबारे सहमति भएको छ । नेपालले पनि त्यही लाइनमा कुरा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्