काठमाडौं, १३ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून नमान्नेहरु नै सरकारमा रहेको भन्दै आलोचना गरेका छन् । संविधान कसैले पनि मार्न नसक्ने उनको दाबी छ । आज (बिहीबार) प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँगको छलफलमा उनले यस्तो बताएका छन् ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले किचेनमा बसेर हरहिसाब गरेर निर्लज्ज खेल खेलेको पनि आरोप लगाए । उनले भने, “यो संविधान संविधानसभाले बनाएको हो । अर्को संविधान बन्ने प्रक्रिया छैन । संविधानसभाको संविधान कहिले पनि मर्दैन । यसलाई मार्न कसैले पनि सक्दैन । यसको संशोधन हुन सक्छ, संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । हामी कानुन मान्ने छौँ । कानुन नमान्ने सरकारमा छन् ।”