Logo

खोपका लागि चीनसँग उपप्रधानमन्त्री पोखरेलको आग्रह



काठमाडौँ, १२ जेठ: उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् ।

नेपालका प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले चीनका पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

नेकपा (एमाले)का महासचिव समेत उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरुप उपलब्ध गराइसकेको छ ।

“नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ, ”उनले भने, “दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।”-रासस/File Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot