गणेशमान सिंह : सन् १९४६ को कुरो हो । म त्यस बेला ३ वर्ष ८ महिनापछि जेलबाट भागेर नेताको खोजमा हिँडिरहेको थिएँ । एक दिन एउटा साथीको चिठी आयो । त्यो चिठीमा उसले बीपी कोइरालाका बारेमा लेखेको थियो । चिठी अनुसार उहाँ १९४६ मा सन् १९४२ को ‘भारत छोडो’ आन्दोलनमा भाग लिएका कारण जेल परेपछि भरखरै छुटेर आउनुभएको रहेछ ।
चिठीसँगै साथीले ‘अब नेपालमा पनि हामीले प्रजातन्त्रका लागि संघर्ष गर्नुपर्छ, त्यसका निम्ति हामी नेपालीले एउटा राजनीतिक संस्था खोल्नुपर्छ, त्यस सिलसिलामा मसँग कुरा गर्न चाहने महानुभावहरुले या त मलाई बोलाऊन् या मलाई पटनामा भेट्न आऊन्’ भन्ने आशयको उहाँको वक्तव्य छापिएको अखबारको कटिङ पनि पठाएको रहेछ । अनि साथीले ‘कलकत्तामा नेपालीहरुले उहाँलाई फलाना मितिमा भेट्ने भएका छन् र तिमी पनि कलकत्ता गएर उहाँसँग तुरुन्तै भेट्नू’ भन्ने उपदेश दिई पठाएको रहेछ ।
बीपीसित पहिले नै पूर्वाग्रही भइसकेकाले मैले त्यो साथीलाई ‘कोइरालासँग भेट्न जान्नँ, यदि उनलाई खाँचो छ भने मलाई मकहाँ आएर भेट्नू भन्ने कुरा तिमीले लेख्नु राम्रो होला’ भनी चिठी पठाएँ । त्यो साथीले एकदम रिसाएर मलाई ‘तुरुन्तै कोइरालाजीलाई भेट्न जानू’ भन्यो । उसको सल्लाहबमोजिम कोइरालाजीलाई भेट्ने निधो गरी म कलकत्ता गएँ । यसरी सन् १९४६ मा कोइरालाजीसँग भएको भेटघाटपछि १९८२ का वर्षहरुसम्म म अनवरत रुपमा सँगसँगै रहेँ । उहाँहरुका प्रेरणाहरु नै मेरो जीवनशक्तिका आधार रहे ।
त्यत्रो लामो सहवासमा मैले कोइरालाजीलाई ज्यादै नजिकबाट हेर्ने सौभाग्य पाएँ । उहाँको बहुआयामिक व्यक्तित्व थियो । उहाँ अत्यन्त साहसी, निडर, सही निर्णय लिन सक्ने दूरदर्शी, लगनशील र एक महान् देशभक्त हुनुहुन्थ्यो । प्रजातन्त्र र समाजवादप्रति उहाँको दृढ आस्था थियो । प्रजातन्त्रका अगाडि अरु साना कुरा र विवादलाई जहिल्यै तिलाञ्जलि दिनुभयो ।
जब हामी भारतमै पार्टी खडा गरेर त्यसकै माध्यमबाट नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापित गर्ने निर्णयमा पुग्यौँ, त्यसपछि पार्टीको नाम के राख्ने भन्ने कुरामा विवाद हुन थाल्यो । हामी काठमाडौँबाट गएकाहरुले पार्टीको नाउँ प्रजापरिषद् नै राख्नुपर्छ भनेर जिद्दी गर्यौँ । अरु साथीहरुको त्यसमा सहमति थिएन । कोइरालाजीले भन्नुभयो, ‘नाम जे राखे पनि हुन्छ, त्यो विवादमा नपरौँ । केवल राणाशाहीलाई हटाएर हामीले नेपालमा प्रजातन्त्र स्थापना गर्नुपर्छ ।’
पछि त्यसको नाउँ तय भयो । राष्ट्रिय कांग्रेस राखियो । पार्टी सञ्चालनका निम्ति हामीलाई पैसाको ठूलो अभाव थियो । त्यसका लागि सुवर्णशमशेर र महावीरशमशेरसित किन सम्बन्ध नराख्ने ? हामीले महावीरशमशेरका साला सीबी सिंहसित सम्पर्क राख्यौँ । उनले महावीरलाई भेट्टाइदिने भए । भोलिपल्ट कलकत्ताको अलिपुरमा गयौँ । हामी केही टाढै बसेर कोइरालाजीलाई महावीरशमशेरको घर देखाइदियौँ । उहाँ भित्र जानुभयो ।
कोइरालाजीले महावीरलाई भेट्न आफू आएको खबर पठाउनुभएछ । तर घन्टौँ पर्खिसक्दा पनि केही खबर नआए पनि पर्खेरै बस्नुभएछ । त्यसपछि बल्ल सीबी सिंहले कोइरालाजीलाई भनेछन्, ‘भिनाजु बाहिर सवारी हुँदै छ, त्यति बेलै भेट्नुपर्यो ।’ अनि मोटरमा बस्न लागेका महावीरजीसित सीबी सिंहले कोइरालाजीलाई परिचय गराएछन् ।
‘ओ कोइारालाजी ! तपाईं नै …. । ल भैगो, पछि म आफैँ तपाईंलाई खबर गरेर भेटौँला ।’ यति भनेर महावीर मोटर चढी गएछन् ।
हामी बाहिर पर्खिरहेका थियौँ । कोइरालाजी आउनुभयो ।
‘के के कुरा भयो ?’ हामीले उहाँसित सोध्यौँ । धेरै बेर पर्खेर पनि राम्रोसित भेटघाट र कुरा नभएको इत्यादि सबै कुरा उहाँले बताउनुभयो । हामीले भन्यौँ, ‘यो त इन्सल्ट हो । तैपनि त्यति बेरसम्म तपाईं किन पर्खेर बसेको त ? ‘
कोइरालाजीले भन्नुभयो, ‘हामी एउटा लक्ष्य लिएर अगाडि बढ्न लागेका छौँ । त्यसैको सिलसिलामा कसैले एक–डेढ घन्टा पर्खायो भन्दैमा स्वाभिमानमा चोट पुग्यो भनेर फर्कने ? स्वाभिमानमा चोट त त्यस बेला लाग्छ, जब तपाईंले आफ्नो व्यक्तिगत स्वार्थका निमित्त पर्खनुपरेको होस् । हामीले अहिले कसले अपमान गर्यो, कसले हेला गर्यो भन्ने भावना राख्न थाल्यौँ भने कसरी काम गर्ने ? तपाईंले व्यक्तिगत फाइदाका निम्ति कसैसित खुसामद गर्नु हुँदैन, कसैसित झुक्नु पनि हुँदैन । तर देशका निम्ति तपाईंले कसैसित झुक्नु पनि पर्छ, कति अपमानलाई सहँदै पचाउँदै जानु पनि पर्छ । आफ्नो सिद्धान्त र आदर्शका निम्ति दृढ भएर रहन सकेनौँ भने मात्रै स्वाभिमानमा चोट पुग्छ । हाम्रो स्वाभिमान हाम्रो सिद्धान्त र आदर्शप्रतिको अडान हो । महावीरशमशेरकहाँ म व्यक्तिगत कारणले होइन, ठूलो उद्देश्यका निमित्त भेट्न गएको थिएँ । त्यसैले मलाई पर्खनुपरेकोमा केही लागेन ।’
###
२०३३ मा हामी मेलमिलाप नीति लिएर स्वदेश फर्केको ५–६ महिनापछि २०३४ साल जेठमा शीतल निवासको प्रहरी हिरासतबाट कोइरालाजीलाई दरबारमा बोलाएर राजा वीरेन्द्रबाट दर्शनभेट बक्स्यो । उहाँ फर्केर आएपछि राजासँग कस्तो कुरा भयो, राजाको के धारणा छ आदि सोध्नुपर्नेमा मैले सोधेँ, ‘कोइरालाजी, तपाईंलाई राजाबाट के भनेर सम्बोधन भयो ?’
उहाँले भन्नुभयो, ‘तिमी भनेर गणेशमानजी ! म राजाबाट तपाईं भनाउने मिसनमा गएको थिइनँ । म त सारा जनतालाई तपाईं भनिनुपर्ने, देशमा प्रजातन्त्र स्थापना हुनुपर्ने र देशलाई जोगाउनुपर्ने मिसनमा गएको थिएँ ।’
मैले करिब ३० वर्षपअघि उहाँले महावीरशमशेरलाई भेटेर आएपछि भनेको कुरालाई फेरि सम्झेँ । म अहिले सम्झन्छु, उहाँभन्दा म कति संकुचित रहेछु, कति सानो मान्छे रहेछु ।
###
२०१७ सालमा एक दिन राजा महेन्द्रबाट कोइरालाजीलाई हुकुम भएछ, ‘तपाईं पत्याउनुहुन्छ कि हुन्न, जावलाखेल दरबार आठ लाखमा सरकारले किनेको, त्यसमा दुई लाख गणेशमानजीले लिनुभएछ ।’
‘कसरी लिनुभएछ सरकार ?’ कोइरालाजीले सोध्नुभएछ ।
‘चार लाख त साहु नै तिर्नुपर्ने भयो । बाँकी चार लाखमा दुई लाख उनको नाउँमा राखिदिनुपर्नेमा दुलहीचाहिँको राखिएकै रहेनछ ।’
त्यसपछि तुरुन्तै कोइरालाजीले कमिस्नर विष्णुमणि आदीलाई बोलाएर भन्नुभएछ, ‘म यहाँ दरबारमै बसिरहन्छु, तपाईंले यो दुई लाखको तुरुन्तै छानबिन गरेर आउनुपर्यो ।’
कोइरालाजीजीको मनमा धुकचुक भइरह्यो रे, ‘अब विष्णुमणिले के खबर ल्याउने हुन् ? राजाले भनेको कसरी झूटो होला र ? पक्कै गणेशमानजीको पनि नियत बिग्रेछ क्यार ।’
दुई घन्टाजति पछि विष्णुमणिले पत्ता लगाएर आई भनेछन्, ‘होइन रहेछ गणेशमानजीले लिएको । दुलहीचाहिँको नाउँमै खातामा जम्मा भएको रहेछ ।’
अनि राजाबाट हुकुम भयो रे, ‘यस्तो रिपोर्ट पनि ल्याउँछन् ।’
त्यसको केही दिनपछि कोइरालाजीले यो कुरा मसित भन्नुभयो । मैले भनेँ, ‘ठीक छ कोइरालाजी । कदाचित् मैले दुई लाख लिएकै भए मेरो कत्रो बेइज्जत ! कमसेकम तपाईंले मलाई त्यो खबर गर्नुपर्ने होइन ?’
कोइरालाजीले भन्नुभयो, ‘के गर्ने ? मैले बाहिर गएर पछि होइन रहेछ भनेको भए राजालाई पत्यार नपर्न पनि सक्थ्यो र राजालाई अविश्वास नहोस् भनेर मैले तपाईंलाई स्टेकमा राखेँ प्रजातन्त्रका निमित्त ।’
प्रजातन्त्रप्रति कतैबाट आँच नपुगोस् भन्ने कुरामा उहाँ सधैँ सचेत र सतर्क हुनुहुन्थ्यो र त्यसका निम्ति उहाँ जेजस्तो मूल्य चुकाउन तत्पर हुनुहुन्थ्यो ।
###
२०१५ को आम चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार गठन गर्ने बेलामा कोइरालाजीले राजाको दर्शनभेट पाउनुभयो । त्यसबेला उहाँले राजासित भन्नुभएछ, ‘भारतले चाहेको मान्छे यहाँ प्रधानमन्त्री भयो भने सानातिना कुराहरुमा पनि झन्झट परिरहन्छ । विकास कार्यमा पनि अवरोध आउन सक्छ । त्यसकारण सरकार र भारतले पनि मनपराएको अनि दरबारको पनि तौरतरिका जान्ने इमानदार व्यक्ति सुवर्णजीलाई नै प्रधानमन्त्री बनाइबक्सनुपर्छ कि ? मैले त दरबारको म्यानर पनि राम्रो जानेको छैन । त्यसले गर्दा सरकारमा गलतफहमी पनि पर्न सक्छ ।’
तर राजा महेन्द्रबाट ‘होइन, अहिलेको स्थितिमा तपाईंजस्तो डाइनामिक मान्छे नै प्रधानमन्त्री हुनुपर्छ’ भन्ने हुकुम भएछ । पछि यो कुरा सुनेपछि पार्टी बैठकमै सुवर्णजीले भन्नुभयो, ‘बीपी, यो कुरा तपाईंले मान्नुभएन भने राजाको ठूलो इन्सल्ट गरेजस्तो हुन्छ । त्यसैले तपाईं नै प्रधानमन्त्री बन्नुपर्छ ।’
हामी सबैले कोइरालाजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्यौँ । कोइरालाजी प्रधानमन्त्री बन्नुभयो ।
हाम्रो कामकारबाहीबाट राजालाई कुनै प्रकारको गलतफहमी र नराम्रो धारणा नपरोस् भन्ने कुरामा कोइरालाजी सधैँ सचेत रहनुहुन्थ्यो । २०१७ पुस १ को घटनापछि पनि ‘केही कुरामा हामीप्रति राजामा गलतफहमी भएको छ, तर के कारणले किन भएको छ, त्यो थाहा पाएर मिटाउन सके प्रजातान्त्रिक परिपाटी कायम हुन सक्थ्यो कि’ भन्ने सोचाइ पछिसम्म कोइरालाजीको थियो ।
‘राजा महेन्द्रमा मेरो देश, मेरो राष्ट्र भन्ने भावना प्रबल छ । प्रजातान्त्रिक परिपाटी खत्तम गरेपछि देशमा एउटा ठूलो संकट आइरहेछ । विदेशी शक्तिले घुसपैठको मौका पाइरहेछन् । यस अवस्थामा विदेशी शक्तिसित साँठगाँठ गरेर अप्रजातान्त्रिक व्यवस्थालाई टिकाउनुभन्दा हामीसित मेलमिलाप गरेर प्रजातान्त्रिक परिपाटी कायम गर्नु नै उचित सम्झेर राजाबाट फेरि प्रजातन्त्रको पुनःस्र्थापना हुनेछ’ भन्ने त्यस बेला पनि कोइरालाजीको धारणा थियो ।
कोइरालाजीको राजा महेन्द्रप्रतिको यो धारणा र वस्तुस्थितिको विश्लेषण ठीक रहेछ भन्ने हामीले त्यस बेला ठान्यौँ, जब हाम्रा बाहिरका साथीहरुले हतियार बन्द गरिसकेका थिए । स्थिति सामान्य जस्तै थियो । त्यही बेला एक दिन कोइरालाजीसित भेट्न ब्रिटिस राजदूतलाई सुन्दरीजल बन्दीगृह नै पठाइयो ।
राजदूतले कोइरालाजीसित भने, ‘सम्पूर्ण प्रजातान्त्रिक अधिकार उपभोग गर्न दिइने, सिर्फ केही समयसम्म मात्र पार्टी खोल्न नपाइने र नाउँ भने सबै तहमा पञ्चायत नै राखिने, यसलाई तपाईंहरुले समर्थन गरेर छुट्नुपर्यो ।’
कोइरालाजीले भन्नुभयो, ‘हामी त जेलभित्र छौँ । क्रान्ति गर्ने साथीहरु देशबाहिर छन् । उनीहरुसित नसोधी हामी केही भन्न सक्दैनौँ । निर्वासनमा रहेका साथीहरुसित भेट्न पठाइयोस् वा बाहिरका साथीहरुमध्ये हामीले भनेको एक दुई जनालाई यहाँ आउन र फेरि फर्केर जान पाउने व्यवस्था होस् अनि मात्र यस सम्बन्धमा हामी निश्चित जवाफ दिनेछौँ ।’
###
कोइरालाजीलाई जनतामाथि ठूलो विश्वास र भरोसा थियो । २०१६ सालमा हाम्रो पार्टीको सरकार बन्यो । निर्वाचित सरकारको गठन भइसकेपछि झन् जनताहरु जे कुरामा पनि विरोध गर्न थाले । विर्ता उन्मूलनको पनि विरोध, मोहियानी हकको सुरक्षा सम्बन्धमा पनि विरोध । त्यसैले मैले एक दिन कोइरालाजीसित भनेँ, ‘हामीले जनताकै हितमा काम गरिरहेका छौँ । हामीले उनीहरुबाट सहयोग पाउनुको साटो झन् हरेक कुरामा विरोध मात्र गरिरहेका छन् । यी जनतालाई पनि के भन्ने ?’
कोइरालाजीले भन्नुभयो, ‘गणेशमानजी, यो विरोधलाई हामीले नकारात्मक रुपले हेर्नु हुन्न । हामी आफ्नै घरको कुरा लिऊँ । कुनै उपरियासँग त हामी खानलाउन पाएनौँ भन्दैनौँ, रुने कराउने गर्दैनौँ । तर आफ्नी आामासित हामी रुन्छौँ, कराउँछौँ, झगडा गर्छौं, खाना चाहियो, लाउन चाहियो भन्छौँ । अहिले जनताले देखाएको विरोध पनि त्यस्तै हो । हामीलाई आफ्नो ठानेर उनीहरु विरोध गर्छन् । विरोधको सुनुवाइ हुन्छ भन्ने उनीहरुलाई विश्वास छ ।’
कोइरालाजीको यो भनाइ मलाई पनि हो जस्तो लाग्यो । यो उहाँको जनताप्रतिको ठूलो विश्वास र भरोसाको उद्गार थियो ।
स्रोतः राजधानी साप्ताहिक बीपी विशेषांक, २०४१