काठमाडौं, जेठ १४ । कोरोना भाइरसको बढ्दो संक्रमण र क्रियाशील सदस्यताका टुंगो लाग्न नसक्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ। कांग्रेसले संवैधानिक सहारा लिँदै भदौ पहिलो साता काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको दोस्रो लहर बढेसँगै अन्योल सिर्जना भएको हो।
कोरोना संक्रमण तीव्र बनेपछि कांग्रेसले यसअघि सार्वजनिक गरेको महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएको छ। महाधिवेशनको पूर्वाधारकारूपमा रहेको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम पनि अझै सकिएको छैन। एकमात्र निर्वाचन क्षेत्र भएका ३० भन्दा बढी र अन्य केही जिल्लाले मात्र अहिलेसम्म सदस्यता नवीकरण वितरणको काम पूरा गरेका छन्। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएका प्रदेश दुईका आठवटै जिल्लामा सदस्यता वितरणको काम विवादका कारण अघि बढ्न सकेको छैन। अपवादकारूपमा केही निर्वाचन क्षेत्रबाहेक आठवटै जिल्लामा सदस्यता वितरणमा विवाद छ।
बाँके, रूपन्देहीसहितका जिल्लामा पनि सदस्यता विवाद सुल्झन सकेको छैन। सिन्धुपाल्चोकमा पनि विवादका कारण सदस्यता वितरण सुरु भएको छैन। अहिलेसम्म नयाँ र नवीकरण गरी ७ लाख ५५ हजारको सदस्यता इन्ट्री भए पनि अझै दुई लाख बढी सदस्यता नवीकरण र नयाँ वितरण हुन बाँकी रहेको सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेको अनुमान छ। ‘साढे आठदेखि नौ लाख सदस्यता पुग्न सक्छ अझै केही समय दिने हो भने,’ घिमिरेले भने, ‘प्राप्तमध्ये साढे चार लाख सदस्यतामा विवाद छैन। डेढ– दुई लाख सदस्यताका विषयमा प्रश्न उठेको छ।’ प्रश्न उठेसहित सबै सदस्यताको टुंगो कसरी लगाउने भन्ने विषयमा रमेश लेखकको नेतृत्वमा गठन भएको छानबिन समितिको बैठक शुक्रबार दिउँसो बस्दैछ। त्यसले कार्यविधि निर्माण गर्ने तयारी गरेको छ।
घिमिरेले भाइरसको संक्रमण पनि बढ्दै जाने र क्रियाशील सदस्यता वितरणको काम पनि नसकिँदा भदौमा कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेमा प्रश्न उठे पनि यसैकारण महाधिवेशन रोकिने अवस्था नभएको बताए। ‘धेरै विवाद भएकालाई रोकेर पनि महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘तर कोरोना संक्रमण यस्तै रहे ज्यान जोखिममा पारेर महाधिवेशन गर्ने कि नगर्ने रु नगरे के गर्ने भन्ने प्रश्न उत्पन्न भएको छ।’
विधानको व्यवस्था अनुसार पाँच वर्षे कार्यकाल गुजारेको कांग्रेस केन्द्रीय कार्य समितिले संवैधानिक व्यवस्थाको सहारामा पछिल्लो पटक भदौ ७ देखि १० सम्म १४औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरेको छ। साउनमा वडा अधिवेशन सुरु गर्न सकिए भदौमा महाधिवेशन गर्न सकिने भनाइ आइरहेका बेला नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनका प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने दोहोर्याएका छन्। नागरिक दैनिकबाट