काठमाडौं, १५ जेठ । भारतका पूर्वविदेश सचिव श्यामशरणले भारत सरकारले नेपालमा राजसंस्था फर्काउन नचाहेको प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भारतीय जनता पार्टी नेतृत्वको सरकारले नेपालमा राजसंस्थासहितको हिन्दुराष्ट्र फर्काउन चाहेको हल्ला आइरहेकाले त्यसबारे प्रष्ट पार्नुपर्ने टिप्पणी गरेका हुन् ।
आज इन्डियन एक्सप्रेसमा लेखमार्फत् नेपालका लागि पूर्वराजदूत रहिसकेका श्यामशरणले लेखेका छन्, ‘भारतले राजसंस्था फर्काउन भूमिका खेलिरहेको चर्चा काठमाडौंमा चलिरहेको छ ।’ उनले राजसंस्थाको अन्त भारतको ठूलो उपलब्धि भन्दै फर्काउनेतर्फ लाग्न नहुनेमा जोड समेत दिए ।
श्यामशरणले राजसंस्थाले जहिले पनि भारतको हितविपरितको कार्य गरेको टिप्प्णी गरे । उनले लेखेका छन्, ‘भारत सरकारले राजसंस्था फर्काउन नचाहेको स्पष्ट पार्नुपर्छ ।’ राष्ट्रिय स्वयंसेवक संघका केही नेताहरुले नेपालमा राजसंस्था फर्काउने अभिव्यक्तिहरु दिइरहेकाले आशंकाहरु बढेको समेत उनले टिप्पणी गरेका छन् ।
विगतमा राजसंस्थाले नेपाललाई भारतबाट टाढा बनाउने भूमिका खेलेको विषयहरु समेत उल्लेख गरे । आफू राजदूत हुँदै विदेशसचिव बन्दा राजसंस्थाको भूमिका भारतको अहितमा पाएको समेत तर्क गरे । उनले लेखेका छन्, ‘राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट टाढा बनाउन भूमिका खेलेको मेरो अनुभव छ ।’
श्यामशरणले भारत प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रीय भएको विषय उठिरहेको समेत लेखेका छन् । ‘ओली भारतका प्रीय हुन् भन्ने धारणा काठमाडौंमा बनेको छ,’ उनले लेखेका छन्, ‘ओलीले भाजपा सरकारलाई राजसंस्थासहितको हिन्दु राष्ट्र ल्याउन भूमिका खेल्ने वाचा गरेको बुझाई राजनीतिक र सर्वसाधारणको विचार बनेको छ ।’