Logo

फेरि सुरुङमार्ग फ्लाइओभर र मेट्रो रेलको सपना



काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत संघीय राजधानी काठमाडौंमा सुरुङमार्ग, मेट्रो रेल, केबलकार, फ्लाइओभर लगायतका महत्वाकांक्षी परियोजना निर्माण गर्ने सपना बाँडेको छ। अघिल्ला अर्थमन्त्रीले जस्तै वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महत्वाकांक्षी सपना बाँड्ने कामलाई निरन्तरता दिएका हुन्।

अर्थमन्त्री पौडेलले शनिबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै पृथ्वी राजमार्गको नागढुंगामा सुरुङ मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङमार्गको युगमा प्रवेश गरेको घोषणा गरे। ‘आधुनिक सुरुङमार्ग हाम्रा लागि सपना नभई वास्तविकतामा रूपान्तरित हुँदैछ,’ अर्थमन्त्री पौडेलले भने, ‘भौगोलिक विकटताका कारण लम्बिएको हाम्रो यात्रा सुरुङमार्गले छोटो बनाउँदैछ। यात्रा लागत घट्दैछ। अब बन्‍ने सडकमा सुरुङ प्रविधिको प्रयोगलाई महत्वका साथ अवलम्बन गरिनेछ।’

अघिल्ला अर्थमन्त्रीहरूले पनि यस्ता महत्वाकांक्षी सपना बाँडेका थिए। बजेटमा महत्वका साथ अघि सारिएका ती योजनाहरूले मूर्त रूप पाउनु त कता हो कता कतिपयको त विस्तृत परियोजना प्रतिवेदनको कामसम्म सुरु भएको छैन। अर्थमन्त्री पौडलले काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको निर्माणाधीन सुरुङमार्गलाई नौ अर्ब ८५ करोड रूपैयाँ विनियोजन गरेका छन्। कोटेश्‍वरको सवारी चापलाई व्यवस्थित गर्न तीनकुने–जडीबुटी खण्डमा सुरुङ मार्ग निर्माण गर्न एक अर्ब ८० करोड रूपैयाँ विनियोजन गरिएको छ।

सरकारले गत आर्थिक वर्षको बजेटमा यो सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो। यो सुरुङ मार्ग निर्माण गर्न एक अर्ब ८० करोड रूपैयाँ विनियोजन भएको छ। बजेटमा टोखा–छहरे–गुर्जेभज्याङ, बेत्रावती–स्याफ्रुबेसी, खुर्कोट–चियाबारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख छ। अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरी काठमाडौं उपत्यकामा मेट्रो रेल र सहरी केबुलकार सञ्‍चालनको सम्भाव्यता अध्ययन गर्ने बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot