Logo

स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड



काठमाडौं, जेठ १६ । सरकारले स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन गरेको छ। शनिवार अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट सार्वजनिक कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रको बजेट सार्वजनिक गरेका हुन्। यो बजेट कुल बजेटको ७.५ प्रतिशत हुन आउँछ। गत वर्षको तुलनामा ३२ अर्व ८ करोड रकम पर्न आउँछ।

यो वर्ष कोभिड–१९ उपचार तथा नियन्त्रण र अस्पतालहरूको निर्माण कार्यक्रमका लागि गत वर्षभन्दा बढी बजेट विनियोजन भएको देखिन्छ। स्वास्थ्य क्षेत्रमा छुट्टयाएको बजेट अहिलेसम्मकै धेरै भएको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख प्रशासक डा।जागेश्वर गौतमले बताए। विगतका वर्षमा कुल बजेटको ६ ७ प्रतिशतसम्म बजेट आए पनि अहिले विषम परिस्थितिका कारण स्वास्थ्य क्षेत्रले प्राथमिकता पाएको डा गौतमको भनाइ छ।

तर अहिले पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बजेट पुग्न नसकेको उनको धारणा छ। ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्छ, त्यो अहिले पनि अपुग छ,’ डा गौतमले भने। आर्थिक वर्ष ०७८र०७९ को बजेट कोभिड १९ को नियन्त्रणमा र स्वास्थ्य अस्पतालका भौतिक पूर्वाधारमा केन्द्रित भएको अन्य कार्यक्रम गत वर्षकै निरन्तर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वनीति तथा योजना महाशाखाका प्रमुख डा।विकास देवकोटाले बताए। ‘

यो बजेटलाई सकरात्मक लिनुपर्छ, यसले आउँदो चार वर्षसम्मका लागि कोभिड–१९ व्यवस्थापनका लागि सहज बनाउँछ,’ उनले भने। तर स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारको लागि विनियोजित कार्यक्रम बजेट लागू हुने विषयमा चुनौती रहेको उनले बताए। गत वर्ष पनि विनियोजित पूर्वाधार बजेट समयमै लागु नहुँदा बजेट फ्रिज हुने अवस्था आएकाले यस वर्ष सरोकारवाला पक्षले समयमै लागु गर्नेगरी कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot