काठमाडौं, १७ जेठ । राष्ट्रिय सभाको लुम्बिनी प्रदेशबाट निर्वाचित हुने सदस्यका लागि भएको उपनिर्वाचन सकिएको छ । मतदानमा ३ जना मात्र जनप्रतिनिधि अनुपस्थित भए । उनीहरुको मतभार १८ का दरले ५४ रहेको छ ।
नेपालगञ्जका उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले मतदान बहिष्कार गरे । उनले ट्वीट गर्दै आफ्नो प्राथमिकता चुनाव नभई कोरोनाविरुद्धको लडाईं भएको बताएका थिए ।
बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक थापा अनुपस्थित भए । उनीहरु विरामी परेको बुझिएको छ ।
प्रदेश सभा तर्फ सबै ८३ जना सांसदले मतदान गरे । स्थानीय तहका २१७ मध्ये २१४ जनाले मतदान गरे ।
निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे उम्मेदवार छन् । पाण्डेलाई काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षधर र राष्ट्रिय जनमोर्चाको साथ छ । एमालेको माधव नेपाल समूहका मतदाताले पनि पाण्डेलाई मतदान गरेको बुझिएको छ ।
मतदानमा अनुपस्थित भएकाहरु
धवल शमशेर राणा, मेयर नेपालगञ्ज उपमहानगरपालिका बाँके
मोहम्मद इस्तियाक साह, अध्यक्ष नरैनापुर गाउँपालिका बाँके
अशोक थापा, दरबार गाउँपालिका गुल्मी