काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उनी पक्षधर नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग ४ घन्टा वार्ता गरे । लन्चसहितको वार्तामा जसपा सरकारमा जाने देखि भविष्यसम्मको सहकार्यबारे छलफल भएको थियो ।
जसपा नेता लक्ष्मणलाल कर्णले मन्त्रालय बाँडफाँडबारे समेत कुरा भएको बताए । उनले भने,‘८ मन्त्री र २ राज्यमन्त्रीको कुरा भएको छ ।’ यद्यपि उनले कस्को नेतृत्वमा सरकारमा जाने र कुन कुन मन्त्रालय पाउने भन्नेबारे टुंगोमा नपुगेको बताए ।
विश्वस्त स्रोतका अनुसार ठाकुरले ८ मन्त्री र २ राज्यमन्त्रीमा अडान लिएका छन् । तर, प्रधानमन्त्री ओली ७ मन्त्री दिन तयार छन् । ७ मन्त्रीमै सहमतिको सम्भावना छ ।
ठाकुरले पार्टीभित्र मिलाउनुपर्ने भएकाले कम्तिमा १० जनालाई मन्त्री बनाउनुपर्ने वाध्यता सुनाएका थिए । ओलीले भने राज्यमन्त्री थपेर मिलाउने जवाफ दिएका थिए ।
ठाकुरले बालुवाटारमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई लिएर गएका थिए । उनीहरु सबै मन्त्री बन्ने सूचीमा छन् । अनिलकुमार झा र राजकिशोर यादव पनि मन्त्री बन्ने सम्भावित हुन् । चन्दा चौधरीलाई मन्त्री बनाउने पक्षमा ठाकुर तयार देखिएका छन् ।
यसैगरी, जसपाको ठाकुर समूह सरकारमा जाँदा प्रदेश २ सरकारमा हुने हलचलबारे पनि छलफल चलेको थियो । त्यहाँ पनि ओली र ठाकुरबीच गठबन्धनबारे छलफल चलेको बुझिएको छ । चुनावमा पनि गठबन्धन गरेर जाने गरी आज लामो कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए ।
बैठकमा एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, राजन भट्टराईलगायत प्रधानमन्त्रीका विश्वासपात्रहरु सहभागी थिए ।