Logo

विपक्षी र कानुनविद्प्रति ओलीको आक्रोश



काठमाडौं, जेठ १८। प्रधानमन्त्री केपी शर्मा ओलीले गत दुई दिनयता विपक्षी र कानुनविद्प्रति आक्रोश पोखिरहेका छन्। सर्वोच्च अदालतमा भइरहेको बहस र विपक्षीको आलोचनालाई लिएर ओली आक्रोशित भएका हुन्।

प्रधानमन्त्री ओलीले अदालतमा भएको बहस तथा पूर्वप्रधानन्यायाधीशहरूले निकालेको वक्तव्यलाई लिएर सार्वजनिक रूपमा टीकाटिप्पणी गरिरहेका छन्। सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले चारजना पूर्वप्रधानन्यायाधीशमाथि आक्रोश पोखे।

आफूले लेखेर दिएको फैसलामात्रै अदालतले सुनाउनुपर्ने जसरी पूर्वन्यायाधीशहरूले विज्ञप्ति जारी गर्न थालेको भन्दै ओलीले कटाक्ष गरे। पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गर्दै संसद् विघटनको विरोध गरेका थिए। संसद् विघटनलाई संविधान मास्ने खेलको रूपमा व्याख्या गरेपछि ओली उनीहरूमाथि खनिएका हुन्।

संसद् विघटन मुद्दामा सर्वोच्चमा जारी सुनुवाइमा संवैधानिक इजलास गठनको विषयमा प्रश्न उठाउने कानुन व्यवसायीमाथि पनि प्रधानमन्त्री ओली खनिएका छन्। ‘उहाँहरू त्यही चाहिरहनुभएको छ। हामीले लेखेर दिएको फैसला पढी सुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौं। यसले न्यायालय कुन अवस्थामा पुग्दैछ। कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ रु कुन हैसियतमा पुर्‍याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ।

पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर। आफ्नो समयमा केही नगर्ने अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा रु यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ’, प्रधानमन्त्री ओलीले भने। उनले पूर्वप्रधानन्याधीशहरूलाई ‘आउटडेटेड एलिमेन्ट’ को संज्ञा दिए।

आइतबार महिला अधिकारसम्बन्धी कार्यक्रममा बालुवाटरस्थित सरकारी निवासबाट सम्बोधन गर्दै ओलीले पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपालले पार्टीलाई धराशयी बनाउन खोजेको आरोप लगाएका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot