Logo

एमाले फुट्नबाट रोक्न यी नेता फेरि सक्रिय



काठमाडौं, १८ जेठ । नेकपा एमालेको औपचारिक विभाजन मात्र बाँकी छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल फरक धारमा बढिसकेका छन् । उनीहरुको फरक गुट सक्रिय छ ।

ओली एकपछि अर्को गर्दै नेपाल पक्षका नेताहरुमाथि कारबाहीको डण्डा चलाइरहेका छन् । उनले माधव नेपाल र झलनाथ खनालसहित ११ एमाले नेतालाई पार्टीबाट निष्काशनको निर्णय लिइसकेका छन् । थप १२ जनालाई निष्काशनको तयारी भएको छ । तर, पार्टी फुट्नबाट रोक्न निष्काशनको लिन लागिएको निर्णय तत्काललाई रोकिएको छ ।

अझै पनि एमाले विभाजन रोक्न सकिन्छ भनेर ओली र नेपाल पक्षका केही नेताहरु सक्रिय भएका छन् । ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली र नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई सहमतिको बिन्दु तयार गर्न लागिपरेका छन् ।

विगतको कारबाही फिर्ता लिने देखि थप कारबाही रोकेर एमालेलाई २ जेठ २०७५ को अवस्थामा पुर्याउने विषयमा छलफल केन्द्रित हुँदै आएको छ । दुवै पक्षका नेताहरु निषेधाज्ञाका बीच पनि छलफल गर्दै आएका हुन् ।

यसअघि पनि मध्यमार्गी नेताहरुले पार्टी एक बनाउन सहमतिको प्रयास गरेका थिए । तर, ओली र नेपाल आ आफ्नो मार्गमा अगाडि बढिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्