काठमाडौं, १८ जेठ । कलम चिन्ह लिने गरी नेकपा एकीकृत दर्ता प्रक्रियामा छ । जीवन राईको अध्यक्षतामा पार्टी वैशाखको पहिलो हप्तामा दर्ताका लागि निवेदन पुगेको छ । मुचुल्का उठाउन थालिएकाले अबको केही दिनमै दर्ता प्रमाणपत्र प्राप्त हुनेछ ।
कलम चिन्ह र कम्युनिस्ट नाम रहेकाले जीवन राई अध्यक्ष भएपनि पार्टी दर्तामा ठूलै शक्तिको भित्री उद्देश्य देखिएको छ । त्यसमाथि राई अनेरास्ववियूका पूर्वनेता हुन् । उनी नविना लामा अध्यक्ष हुँदा उपाध्यक्षका उम्मेदवार थिए र पराजित भए । एमालेको माधव नेपाल समूहमा राई थिए ।
नेकपा एकीकृत माधव नेपाल समूहकै चाहना बमोजिम दर्ता भएको बुझिएको छ । निर्वाचन घोषणा भइसकेपछि पार्टी दर्ता गर्न मिल्दैन । निर्वाचन आयोगमा चुनाव घोषणा नहुँदै दर्ता गर्नुपर्ने भएकाले निवेदन वैशाखको पहिलो हप्ता नै गएको थियो । ७ जेठमा चुनाव घोषणा भइहाल्यो ।
कलम चिन्हको पूर्वाभ्यास भइसकेको छ । राष्ट्रियसभा उपनिर्वाचनमा कलम चिन्ह लिएर उम्मेदवार बनेका खिमलाल देवकोटाले सुर्य चिन्हबाट उम्मेदवार बनेका बादललाई पराजित गरेका थिए । देवकोटाले कलम चिन्ह लिनु र जीवन राईले कलम चिन्ह मागेर पार्टी दर्ताको उम्मेदवारी दिनु संयोगमात्र होइन ।
कलम चिन्हको नेकपा एकीकृतमा भविष्यमा प्रचण्ड र माधव नेपालको नेतृत्व हुने सम्भावना पनि देखिएको छ । प्रचण्ड र नेपाल एक भएर चुनावमा जाने सहमतिका साथ बढेका छन् ।