काठमाडौं, जेठ १९ । सानिमा बैंक लिमिटेडले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको बैंकले जनाएको छ ।
यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । हाल बैंकले ८६ शाखा, १७ विस्तारित काउन्टर र ९६ एटिएमबाट बैकिङ सेवा दिदै आएको छ ।