काठमाडौं, १९ जेठ । आजको नेकपा एमाले स्थायी कमिटी बैठक कुनै कारबाहीको लागि बस्न लागेको होइन । बरु कारबाही फिर्ता लिएर एमाले एकताका लागि नयाँ प्रस्ताव वा निर्णयका साथ बढ्नका लागि बस्न लागेको छ ।
सम्भवतः अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५ मा फर्कनेबारे कुनै निर्णय लिनसक्छन् । त्यो भनेको नेकपा एमालेको नवौं महाधिवेशनको सांगठनिक संरचना जस्ताको तस्तै राख्ने हुनसक्छ । ओली नवौं महाधिवेशनलगत्तैको अवस्थामा पार्टीलाई पुर्याउने निर्णयमा पनि पुग्न सक्छन् ।
२ जेठ २०७५ को अवस्था भनेको एमालेको निर्वाचित पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय समितिलगायतका पदहरुको तत्कालीन संरचना हो । जसमा केपी शर्मा ओली अध्यक्ष र इश्वर पोखरेल महासचिव हुन् । यो अवस्था अहिले पनि छ ।
तर, उपाध्यक्षमा निर्वाचितहरु बामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज छन् । उनीहरु सबै ओलीविरोधी देखिएका छन् । गौतम कुनैपनि गुटमा नबसी एकता अभियानमा छन् । बाँकी नेपाल पक्षमा छन् ।
उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल निर्वाचित भएका थिए । पौडेल ओली पक्षमा छन् भने भुसाल नेपाल पक्षमा छन् ।
सचिवमा निर्वाचित भएकामा प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ्ग र भीम आचार्य हुन् । २ जेठ २०७५ मा फर्किए उनीहरु सचिव पदमा रहनेछन् । अहिले ज्ञवाली एमाले प्रवक्ता छन् । गुरुङ्ग स्थायी कमिटी सदस्य छन् । बिष्ट, भट्टराई र आचार्य नेपाल पक्षमा छन् ।
नवौं महाधिवेशनमा स्थायी कमिटी सदस्यमा निर्वाचितहरुमा सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल र पदेन सदस्य अमृतकुमार बोहरा र प्रमेश हमाल छन् । उनीहरु नेपाल पक्षमा छन् । न्यौपाने एमालेबाट निष्काशित गरिएका छन् ।
त्यतिबेला स्थायी कमिटी सदस्यमा निर्वाचितहरुमध्ये शंकर पोखरेल, सुवास नेम्वाङ्ग, विष्णु रिमाल र सत्यनारायण यादव ओली पक्षमा छन् । उनीहरु अहिले पनि स्थायी कमिटीमै राखिएका छन् ।
२ जेठ २०७५ मा ओली फर्किए सबै सांगठनिक संरचनाहरु त्यतिबेलाको अवस्थामा पुग्नेछ । प्रदेशहरुको इञ्चार्ज पनि पुरानै अवस्थाका हुनेछन् । तर, ओली केही संशोधनसहित मात्र २ जेठ २०७५ को अवस्थामा फर्कने तयार भएको बुझिएको छ, त्यो पनि सशर्त ।
ओलीले पदाधिकारी यथावत् राखेर स्थायी कमिटीमा हाल रहेकाहरुलाई पनि कायमै राख्ने सम्भावना पनि रहेको बुझिएको छ । उपाध्यक्षमा बादलको मनोनयन हुनसक्छ । विद्या भण्डारी राष्ट्रपति भएपछि एमालेमा एक उपाध्यक्ष पद रिक्त छ । ओली जसरी पनि आफ्नो पकड मजबुत बनाएर २ जेठ २०७५ मा केही संशोधनसहित फर्कन चाहिरहेका छन् ।
केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.केपी ओली, अध्यक्ष
२. इश्वर पोखरेल, महासचिव
३. प्रदिप ज्ञवाली, सचिव
४. पृथ्वी सुब्बा गुरुङ, सचिव
५. विष्णु पौडेल, उपमहासचिव
स्थायी कमिटी सदस्य
६. शंकर पोखरेल
७. सत्यनारायण यादव
८. सुवास नेम्वाङ
९. विष्णु रिमाल
माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१. माधवकुमार नेपाल, वरिष्ठ नेता
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष
४. भिम रावल, उपाध्यक्ष
५. युवराज ज्ञवाली, उपाध्यक्ष
६. घनश्याम भुषाल, उप महासचिव
७. भिम आचार्य, सचिव
स्थायी कमिटी सदस्य
८. सुरेन्द्र पाण्डे
९. मुकुन्द न्यौपाने
१०. रघुजि पन्त
११. बेदुराम भुषाल
१२. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य
१३. प्रमेश हमाल, पदेन स्थायी कमिटी सदस्य
तटस्थ
१. बामदेव गौतम, उपाध्यक्ष
२. गोकर्ण विष्ट, सचिव
३. योगेश भट्टराई, सचिव
(एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्य)