Logo

‘अकल्पनीय’ हत्याकाण्डका ‘अनुत्तरित’ प्रश्नहरु



श्रीरामसिंह बस्नेत : ‘तिमीले कति मीठो हाँस्यौ राजा ! तिम्रो त्यो निश्छल हाँसोको सम्झनाले हामीलाई युग-युगसम्म रुवाइरहनेछ ।’

अकल्पनीय दरबार हत्याकाण्डको केही दिनपछि नारायणहिटी राजदरबारको मूलद्वारमा राखिएको शोक पुस्तिकामा पंक्तिकारले यो हरफ लेखेको थियो । र, लेखिसकेपछि साँच्चि नै आँसु पुछ्दै त्यहाँबाट बाटो लागेको थियो । त्यो क्षणको सम्झना २० वर्षपछि आज पनि ताजै छ ।

देश दुखेको अवस्था कस्तो हुन्छ भन्न्ने प्रत्यक्ष अनुभव २०५८ जेठ १९ गते रातिदेखि कैयौं हप्तासम्म नेपाली जनताले गरेका थिए । देशभित्र मात्र होइन, संसारका विभिन्न स्थानमा रहेका नेपाली र नेपालका शुभेच्छुक विदेशीहरुले समेत घोर आश्चर्य र दुःखको अनुभव गरेका थिए । त्यस अकल्पनीय र असहनीय घटनाको केही महिनापछि एउटा तालिम कार्यक्रमको सिलसिलामा पंक्तिकार दुई हप्ताका लागि बैंककमा थियो । नेपालबाट आएको भन्ने बित्तिकै मलाई त्यहाँ भेटिने प्रायःजसो विदेशी मित्रहरुको पहिलो जिज्ञासा त्यही घटनाबारे हुन्थ्यो । तर उनीहरुको जिज्ञासा मेटाउन सक्ने अवस्थामा म थिइनँ । अनेकौं कोणबाट उनीहरु प्रश्न गर्थे । युवराज दीपेन्द्रले गोली प्रहार गरेको भन्ने औपचारिक भनाइलाई पत्याउन कोही पनि तयार थिएनन्, न म आफैं विश्वस्त थिएँ । कोही भारतको षडयन्त्र हो कि भनेर सोध्थे, कोही शंकाको सुई अमेरिकातिर पनि सोझ्याउँथे ।

घटनाबारे तथ्य छानविन गर्न तत्कालीन प्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय समिति बनाइएको थियो । यस सन्दर्भमा दुई नेताको प्रवृत्ति उदाङ्गिएको थियो । समिति बन्ने बेलामा ‘मलाई पनि समितिमा राख्नु, म छुटुँला नि’ भनेका तत्कालीन नेकपा एमालेका महासचिव माधव नेपाललाई प्रमुख प्रतिपक्षी नेताका हैसीयतले उक्त समितिमा राखिएकोमा पछि उनले सो समितिमा बस्न नमानेर बखेडा खडा गरेका थिए र अन्ततः प्रमुख प्रतिपक्षीबिना नै समितिले काम गर्यो ।

समितिले काम सकेर प्रतिवेदन सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा तत्कालीन सभामुख तारानाथ रानाभाटले अर्को नौटंकी देखाए । दीपेन्द्रले हत्याकाण्डमा प्रयोग गरेको भनिएको स्वचालित बन्दुक उनले उत्ताउलिएर आफैंले उठाएर पत्रकारहरुतर्फ सोझ्याउँदै भटट… गोली चलाइयो भनी घटनाको अभिनय गरेर देखाए । उनको यो अपरिपक्व र अमर्यादित कार्यको सबैतिरबाट यति आलोचना भयो कि उनको राजनीतिक अवसान हुनुको एउटा कारण यो पनि बन्न पुग्यो ।

राष्ट्रिय वियोगको त्यस घटना भएको जेठ १९ गते शुक्रबारको रात साँच्चि नै जीवनमा बिर्सन नसकिने रात थियो यस पंक्तिकारका लागि पनि । म त्यतिखेर राष्ट्रिय समाचार समिति (रासस) को प्रमुख समाचारदाता थिएँ । समाचारका लागि हरक्षण चनाखो रहनु मेरो कर्तव्य थियो । घरमै थिएँ, राति करिब १० बजेतिर ल्यान्डलाइन फोन बज्यो । (यद्यपि त्यतिखेर ल्यान्डलाइन फोन भन्ने चलन थिएन, किनकि मोबाइल फोनको चलन नै आएको थिएन ।) फोन गर्ने मित्रले सोधे, ‘दरबारमा गोली चल्यो रे, धेरै जना मरिसके रे हो ?’

मैले मात्र होइन, कसैले पनि पत्याउने कुरो थिएन यो । त्यसैले कसैले चलाएको हावादारी कुरा होला भनेर उसलाई जवाफ दिएँ । एकछिन पछि फेरि अर्को फोन आयो र त्यस्तै प्रश्न सोधियो । तीन–चार जनाको यस्तै आशयको फोन आएपछि मेरो मनमा केही चिसो पस्यो । माओवादी हिंसाको बिगबिगी चलिरहेको समय भएकोले उतैतिर पनि आशंका हुनु अस्वाभाविक थिएन । त्यसपछि मेरो तत्कालीन हाकिम राससका अध्यक्ष गणेशबल्लभ प्रधानकै फोन आयो । उनी नेपालका पुराना पत्रकार र पाका मानिस थिए । त्यसैले पनि अघिल्ला फोनहरुभन्दा मलाई उनको फोनले पक्कै पनि केही ठूलै घटना भएको हुनुपर्छ भन्ने विश्वास भयो । तर, उनले पनि यकिन जानकारी पाएका थिएनन् । उनले ‘दरबारतिर ठूलो विस्फोट भयो रे, केही थाहा पाउनुभयो कि ?’ भनेर मलाई सोधेका थिए ।

त्यसपछि मेरी सहकर्मी निर्मला आचार्यलाई फोन गरें । उनले पनि केही गाइगुइँ पाएकी रहिछन् । यतिखेरसम्म राससको रातिको बुलेटिन बन्द भई सम्पादक साथीहरु घर फर्किसकेका थिए । मेरो फोनको घण्टी बजिनै रहेको थियो, सुत्न सक्ने अवस्था र मनस्थिति दुवै थिएन ।

त्यस्तैमा एउटा मित्रले फोन गरेर ‘सिएनएनले देखाइसक्यो’ भन्यो । टिभीमा सिएनएन लगाएको त नभन्दै हो रहेछ । नेपाली सेनाको उच्च पदाधिकारीको हवाला दिंदै घटनाको प्रारम्भिक समाचार दिइरहेको थियो तर कुनै घटनाको दृष्य भने देखाएको थिएन, नेपालसम्बन्धी केही स्टिल फोटो मात्र देखाएको थियो । हामी धर्मसंकटमा परियो । दरबारसम्बन्धी कुनै पनि समाचार प्रमुख संवाद सचिवालयबाट पास भएपछि मात्र राससले दिने चलन थियो । त्यसैले अघिपछि गर्ने गरेको नम्बरमा फोन गरी संवाद सचिवालयमा सम्पर्क गर्न खोजें तर फोन उठेन । रात सिएनएन र बिबिसी टिभी हेरेरै बित्यो ।

बिहान ५ नबज्दै रासस पुगें, अरु रिपोर्टर साथीहरुलाई पनि सकेसम्म छिटो अफिस आउन आग्रह गरें । बिहान ६ बजेपछि रासस समाचार कक्षबाट प्रमुख संवाद सचिवालयमा फेरि फोन गरी हेरें । तै फोन उठ्यो, हामीले समाचारका लागि सम्पर्क गर्ने गरेका अधिकारीले नै फोन उठाएका थिए । उनलाई मैले समाचारबारे जिज्ञासा राख्दा उनले दिएको उदेकलाग्दो जवाफ सम्झदा अहिले पनि अनौठो लाग्छ । उनले भनेका थिए, ‘अरु कुरा छोड्नुस्, तपाईंहरु चार–पाँच जना कालो-सेतो (राष्ट्रिय पोसाक) मा स्ट्याण्डबाई रहनुस् ।’

त्यसै गरियो, अरु उपाय थिएन । घटनाबारे अन्तर्राष्ट्रिय माध्यमबाट निरन्तर समाचार आइरहेका थिए तर राष्ट्रिय सञ्चार माध्यम भने मौन रहन बाध्य थिए । राजगद्दीनसिन राजाको निधन भएमा युवराजलाई गद्दी आरोहण नगराई राजाको निधन भएको घोषणा नगर्ने प्रचलन र राजपरिषद्को नियमको मारमा नेपालका मिडिया परेका थिए ।

गोली लागी अचेत अवस्थामा सैनिक अस्पतालमा अन्तिम सास लिइरहेका युवराज दीपेन्द्रलाई राजा घोषित गरेपछि मात्र राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायतको निधन भएको घोषणा गरियो । दीपेन्द्र राजा भएको समाचार दिइसकेपछि मात्र राजा, रानीको निधन भएको समाचार दिइयो । त्यसबारे पनि संवाद सचिवालयबाट कुनै आधिकारिक समाचार आएन, त्यसको लागि अनुरोध गर्दा ‘तपाईंहरुले आफ्नै हिसाबले रिपोर्टिङ गर्नुस्’ भनियो । त्यसपछि मैले नै भारी मन लिएर दरबार हत्याकाण्डको समाचार लेखें र राससबाट सम्प्रेषण भयो । त्यही समाचार जेठ २२ गतेको गोरखापत्रको स्काई हेड (मास्टहेडभन्दा पनि माथि विरलै मात्र दिइने समाचार) मा प्रकाशित भयो । त्यही समाचारमा मैले सो घटनालाई ‘अकल्पनीय’ भन्ने शब्द प्रयोग गरेको थिएँ । त्यस घटनाको सन्दर्भमा पहिलो पटक प्रयोग भएको ‘अकल्पनीय’ शब्द नै पछि व्यापक रुपमा प्रयोग भयो ।

बिहानदेखि राष्ट्रिय पोसाक लगायर ‘स्ट्याण्ड बाई’ बसेका रिपोर्टर साथीहरुसहित म पनि दीपेन्द्रको गद्दीआरोहण, राजा-रानीको शवयात्रा र अन्येष्टि आदिको ऐतिहासिक एवम् गम्भीर रिपोर्टिङ सकेपछि रातिमात्र कामको तनावबाट मुक्त भइयो, तर मन भने पछिसम्म भारी नै भई रहेको थियो ।

शाही संहारका सन्दर्भमा केही कुरा अनौठा थिए भने केही अझसम्म अनुत्तरित । त्यतिखेर प्रधानमन्त्री तथा राजदरबार मामिलासम्बन्धी मन्त्री गिरिजाप्रसाद कोइराला थिए । तर, विश्व हल्लाउने त्यस घटनापछिका परिदृष्यहरुमा उनको निरीहता अनौठो थियो । उनी कुनै पनि निर्णायक भूमिकामा थिएनन्, घटनाबारे यथासम्भव छिटो उनलाई जानकारी दिन पनि कसैले आवश्यक ठानेनन् । उनी भोलिपल्ट मात्र घटनास्थल पुग्न बाध्य भए ।

गोलीकाण्डमा घाइते भई जीवनमरणको दोसाँघमा पुगेका देशका राजा, रानी, युवराज, अधिराजकुमार, अधिराजकुमारी आदिलाई दरबारबाट पाँच मिनेटको दूरीमा रहेको देशको सबैभन्दा ठूलो र साधनसम्पन्न वीर अस्पताल नलगी झण्डै आधा घण्टा टाडाको छाउनी सैनिक अस्पताल किन पुर्याइयो ? र, त्यो निर्णय र त्यसलाई कार्यान्वयन गर्ने आदेश रगतको आहालमा डुबेको दरबारभित्र कसले गर्यो ? टाउको, छाती जस्ता महत्त्वपूर्ण अङ्ग जोगिएको तर तिघ्रामा मात्र गोली लागी रक्तश्राव मात्र भइरहेकी अधिराजकुमारी श्रुतीलाई किन बचाउन सकेन सैनिक अस्पतालले ? आफ्नो नाम नदिईकन घटनाको लगत्तै सिएनएन, बिबिसीलाई जानकारी दिएर संसारभर खबर फैलाउने ती ‘एक उच्च सैनिक अघिकृत’ को थिए ? तिनको बारेमा नेपाली सेनाको प्रशासन जानकार थियो ? तत्कालीन प्रधानसेनापति प्रज्ज्वलशमशेर जबराले ‘दरबारको सुरक्षा हाम्रो (नेपाली सेना) जिम्मेवारी होइन, दरबारको सुरक्षाका लागि दरबारभित्रै सेना छ’ भन्ने विवादास्पद जवाफ दिएका थिए । के नेपालका राजाले आफ्नो लागि बेग्लै सेना राख्ने चलन थियो ? जबकि दरबारभित्रको सुरक्षाका लागि पनि सैनिक हेडक्वाटरले खटाएअनुसार नै नेपाली सेनाका अघिकृत तथा जवानहरु तैनाथ रहन्थे ।

राजा र राजपरिवारका सैनिक अङ्गरक्षकहरुको निकम्मापनको ज्वलन्त उदाहरण थियो दरबार हत्याकाण्ड । प्रधानसेनापतिबाट अवकाश पाएपछि उनै जबरा फ्रान्सका लागि नेपालको राजदूतमा नियुक्त भए । कडा लागुपदार्थको सेवनले आफैंलाई सभाल्न नसके अवस्थामा पुगेकाले अरुले सहारा दिएर कोठामा लगेर सुताइएका भनिएका युवराज दीपेन्द्र फेरि तुरुन्तै कसरी स्वचालित हतियारलिएर रात्रिभोजस्थलमा पुगी गोली काण्ड मच्चाउन सफल भए ? मदिरा र कडा लागुपदार्थको कुलतमा फसेका भनेर दरबारभित्र सबैलाई जानकारी हुँदाहुँदै दीपेन्द्रलाई स्वचालित हतियारसम्मको खुला पहुँच किन दिइएको थियो ? गोली काण्ड भएको मुख्य घटनास्थल त्रिभुवन सदन सरकारलाई समेत जानकारी नदिई हतार हतारमा किन भत्काइयो ? यस्ता कैयौं प्रश्नको सही जवाफ आएको छैन र सायद कहिल्यै आउने पनि छैन । त्रिभुवन सदन नभत्काइएको भए अहिले त्यो नारायणहिटी संग्रहालायको एक प्रमुख दर्शनीयस्थल हुने थियो ।

अब केही चर्चा गरौं राजा वीरेन्द्रका बारेमा । नेपालका शाह राजाहरुमा पृथ्वीनारायण, त्रिभुवन, महेन्द्र र वीरेन्द्र विशेष उल्लेखनीय र स्मरणीय छन् । तीबाहेक अरु राजाहरु जनमानसको हेक्कामा छैनन् र हुनु आवश्यक पनि छैन । तर २०६२ पछि ती चार राजाहरुलाई उपेक्षा गर्ने दुष्चरित्र राजनीतिक वृत्तबाट देखाइएको छ । इतिहासलाई वर्तमानले अपमान ग¥यो भने त्यसको मूल्य भविष्यले चुकाउनु पर्दछ । हिन्दुधर्मले राजालाई भगवान् विष्णुको अंश माने पनि राजाहरु मानिस नै थिए, भगवान थिएनन् । त्यसैले उनीहरुका पनि कमीकमजोरी, त्रुटि हुनु अस्वाभाविक होइन । लेनिन, माओ, महात्मा गान्धी, नेल्सन मण्डेलाजस्ता विश्व नेताहरुका पनि त्रुटि, कमीकमजोरी थिए ।

राजा वीरेन्द्र खुला र उदार विचारका साँच्चिकै शान्तिप्रेमी राजा थिए । उनीसँग प्रत्यक्ष भेटेर कुराकानी गर्नुअघि बाहिर उनको चर्को आलोचना गर्नेहरुले पनि उनीसित भेटेपछि आलोचना गर्न छोडेका थिए । २०४६ सालको जनआन्दोलन सफल भएपछि राजासँग वार्ता गर्न दरबार पुगेका नेताहरुले वार्तापछि राजा आफूहरुले सोचेभन्दा धेरै सकारात्मक पाएको बताएका थिए । उक्त वार्ताका सहभागी नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले राजालाई ‘थरो जेन्टलम्यान’ भनेर पत्रकारसमक्ष बताएका थिए । खुलामञ्चबाट राजालाई ‘श्रीपेच फुकालेर चुनाव लड्न आउनु’ भनेर हुँकार गर्ने कम्युनिस्ट नेता मदन भण्डारीको पनि दरबारमा राजासँग कुराकानी भएपछि राजाप्रतिको दृष्टिकोण बदलिएको बताइन्छ ।

राजा वीरेन्द्र आमजनमानसमा लोकप्रिय थिए भने अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठित । २०४६ सालमा भारतले गरेको नाकाबन्दी र बहुदलको माग गरी चलेको जनआन्दोलनको दोहोरो चेपुवामा परेका कार्यकारी राजा वीरेन्द्रले भारतसँग झुक्नुभन्दा आफ्नै देशका नेताहरुसँग सम्झौता गर्न गरेको निर्णय उनको सुझबुझ र राष्ट्रप्रेमको ज्वलन्त उदाहरण हो ।

राजा वीरेन्द्रसम्म कुनै समस्या पुग्यो भने त्यसको उचित समाधान उनले दिन्थे । तर बाधा कहाँनिर थियो भने समस्यालाई उनीसम्म पुग्नै दिँइदैन थियो । उनीसम्म यथार्थ कुरा पुर्याउन बीचमा रहेका धेरै प्रक्रियारुपी पर्खालहरुलाई छिचोल्नु पर्दथ्यो, जो सहज थिएन । राजा नै सर्वेसर्वा रहेका पञ्चायतकालमा पनि राजाले चाहेका कतिपय काम सम्पन्न हुन सकेका थिएनन् । नयाँ मुलुकी ऐन, विकेन्द्रीकरण, भूमिसुधार आदि महत्त्वपूर्ण कदमले आफ्नो अपेक्षित लक्ष्य हासिल गर्न सकेनन् । यसको मुख्य कारण राजालाई घेरेर बसेका पंक्तिको प्रवृत्ति थियो ।

राजा वीरेन्द्रको मुख्य कमजोरी पारिवारिक मामिलामा थियो । राजपरिवारभित्र राजा निस्क्रिय र रानी ऐश्वर्य हावी थिइन् । पत्नीव्रत हुननसकेको आरोपमा आफ्नै कान्छो भाइ धीरेन्द्रलाई रानीको दबाबमा श्री ५ अधिराजकुमारको पदवी खोस्नु राजाको ठूलो त्रुटि थियो । राजपरिवारभित्र विग्रहको सुरुवात त्यही घटनादेखि भएको थियो । अनौठो के थियो भने अधिराजकुमारसँग विवाह भएको कारण श्री ५ अधिराजकुमारीको पदवी पाएकी धीरेन्द्रकी पत्नी प्रेक्षाको सो पदवी पतिको पदवी खोसिएपछि पनि रानीको दबाबमा कायमै रहेको थियो । उनी रानी ऐश्वर्यकी कान्छी बहिनी थिइन् ।

दरबार हत्याकाण्ड भएको केही समयपछि उनको पनि रारातालमा भएको हेलिकोप्टर दुर्घटनामा आश्चर्यजनक रुपमा निधन भयो । युवराज दीपेन्द्रलाई सही अभिभावकत्व दिन नसक्नु पनि राजारानीको ठूलो कमजोरी थियो । राजा र युवराज अर्थात् बाबुछोराबीच नियमित भेटघाट, छलफल विरलै मात्र हुन्थ्यो भन्ने दरबारभित्रका जानकारहरु बताउँछन् भने रानी छोरा दीपेन्द्रमाथि अनावश्यक रुपमा कडा नियन्त्रण राख्न खोज्थिन्, जो प्रत्युत्पादक हुन गयो । राजगद्दीका उत्तराधिकारी युवराज छोरालाई ३० वर्षको उमेरसम्म पनि अविवाहित नै राख्नु र विवाहबारे आमाले अवाञ्छित दबाब दिनु कुनै पनि दृष्टिले उचित थिएन । २०४७ को संविधानबाट राजा वीरेन्द्रले कार्यकारी अधिकार छोडी संवैधानिक राजा मात्र बनेर बस्न सहमत भएकोमा राजपरिवार उनीसित खुसी थिएन । नेपालका दुई असाधारण घटना दासढुङ्गा र दरबार हत्याकाण्डको यथार्थ पत्ता लाग्न सम्भव होला भन्ने कुरामा अब सायदै कोही आशावादी होलान् ।

अहिले राजतन्त्र गएर गणतन्त्र आइसकेको छ । यद्यपि यो गणतन्त्र कसका लागि आएको वा ल्याइएको हो भन्ने अझै जनताले राम्ररी भेउ पाउन सकेका छैनन् । तर, आज २० वर्षपछि पनि ‘राजा वीरेन्द्र’ भन्ने शब्द कतै आउँदा जोसुकै नेपालीको मनमा पनि उनकै त्यो हँसिलो मुहारको झझल्को आउन छोडेको छैन ।

 



प्रतिक्रिया दिनुहोस्