काठमाडौं, २० जेठ । नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम अझै तटस्थ छन् । उनी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमध्ये कुनैपनि पक्षमा खुलेका छैनन् ।
ओलीले गौतमलाई स्थायी कमिटी सदस्य बनाएपनि अस्वीकार गरे । नेपाल समूहले बैठकमा डाकेपनि गएका छैनन् । उनले एकता अभियान जारी राखेका छन् ।
गौतमले एमालेका ओली र नेपाल पक्षीय मध्यमार्गी नेताहरुसँग नियमित छलफल गर्दै आएका छन् । अर्थमन्त्री विष्णु पौडेलसँग उनले नियमित छलफल गरी एकताको पहल गरिरहेका छन् । नेपाल पक्षका नेताका रुपमा परिचित सुरेन्द्र पाण्डे र योगेश भट्टराईसँग पनि गौतमको नियमित कुराकानी चल्दै आएको छ । यी नेताहरु एमाले फुट्न नदिन सक्रिय छन् ।
विगतमा एमाले फुटाएर माले गठन गरेका गौतमले विभाजनको ठूलो असर पर्ने भन्दै गम्भीर हुन दुवै पक्षलाई आग्रह गर्दै आएका छन् । अन्तिम समयसम्म एमाले एकता कायमै राख्ने र माओवादीसँग पनि एकता निर्माण गर्ने उनको प्रयास चल्दै आएको छ ।
गौतम एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । उनले ओलीलाई अध्यक्ष जिताउन मुख्य भूमिका निभाएका थिए । एमालेभित्र ओली र नेपाल पछि बलियो गुट भएका नेताका रुपमा गौतमलाई चिनिन्छ ।