मकवानपुर, २० जेठ: पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाहीको वाग्मती नगरपालिका–४ का ६६ वर्षीय जीतबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मृतक थिङको भरतपुरबाट कोरोना सङ्क्रमणको उपचारपछि डिस्चार्ज भई एम्बुलेन्समा घर फर्किने क्रममा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृतक थिङ चढेको प्र१००५च ३६३८ नंको एम्बुलेन्सले सोही दिशाबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४३८० नंको ट्रकसँग ठक्किएर दुर्घटना भएको हो । एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएको र उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।-रासस/File Photo