Logo

स्वास्थ्य सामग्री लगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ



काठमाडौं, २० जेठ । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सामग्रीको अत्यधिक माग भइरहेको अवस्थामा विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरुलाई उक्त अवधिमा देशभरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री गर्ने र ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँड्डुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने रहेका छन् ।

उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर रसायन, विभिन्न स्टिकरहरू, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद भएको थियो ।

सो अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दिया लगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई कारबाही गरिएको छ । साथै बाँके नेपालगंज उपमहानगरपालिका-८ स्थित मारुती नन्दन जनरल स्टोरबाट प्रयोग अवधि समाप्त भएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी प्रहरी सहितको संयुक्त अनुगमन टोलीबाट नष्ट गरिएको थियो ।

देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने लगायतका नियमित कामको साथै कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रण गर्ने, निषेधाज्ञा पालना गराउने एवं विषम परिस्थितिको फाइदा उठाउँदै हुने गरेको कालोबजारी नियन्त्रणमा समेत नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । सो क्रममा जन स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक साम्रगीको कालोबजारी गर्ने काम हुँदै नहोस् भनेर स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयमा गोप्य निग्रानी तथा अनुगमन टोली बनाई परिचालन गरिएको छ । जोसुकैले कालोबजारी गरेको भेटिए पनि प्रत्येक जिल्लामा रहेका संयन्त्रमार्फत प्रचलित कानुन बमोजिम कडाइकासाथ अनुगमन र कारबाही गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्