काठमाडौं, २० जेठ । नेकपा एमालेको माधवकुमार नेपाल निकट नेताहरुको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले ओलीले सहमतिका नाममा अलमलाउन खोजेको निष्कर्ष समेत निकालेका छन् ।
पार्टी विधि र विधानलाई समेतको धज्जी उडाएर ओलीले एकपछि अर्को कदम चालिरहेको भन्दै नेताहरुले कुनै कार्डबाट अलमलिन नहुने समेत बताएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै अलमल नगरी नयाँ दल खोल्ने तयारीमा लाग्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक नेताले बताए । उनले ओलीसँग सहमति हुन नसक्नेमा निश्चिन्त हुन समेत आग्रह गरे ।
सुरेन्द्र पाण्डेले सहमतिका लागि भइरहेको वार्तामा कुनै ठोस नतिजा आउने संकेत नदेखिएको स्पष्ट पारे । उनले वार्ता अलमलाउने अस्त्र मात्र देखिएको बताएको बुझिएको छ । पटक पटक वार्ता गर्दा पनि २ जेठ २०७५ मा फर्कन ओली तयार नभएको उल्लेख गरे ।
अधिकांश नेताहरुले अब अलमलिए कम्युनिस्ट आन्दोलनलाई झन् ठूलो क्षति पुग्नेतर्फ सचेत गराए । उनीहरुले कम्युनिस्ट आन्दोलनलाई जिवित राख्न पनि कठोर कदम चाल्नुपर्नेमा जोड दिए ।