Logo

संवैधानिक सकसमा कांग्रेस



काठमाडौं, जेठ २१ । तोकिएको समय महाधिवेशन नहुने अवस्था बन्दै गएपछि नेपाली कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिएको छ । कांग्रेस विधानअनुसार पार्टी सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुन्छ । तर, असाधारणस्थिति भएमा बढीमा एक वर्ष अवधि बढाउन सकिने विधानमा उल्लेख छ ।

कांग्रेसले विधानमा भएको व्यवस्था मात्रै होइन, हालसम्म संविधानमा भएको व्यवस्थालाई समेत उपयोग गरिसकेको छ । जसअनुसार गत फागुनमा संविधान सुविधा प्रयोग गरेर पार्टी केन्द्रीय समिति कार्यकाल बढाइएको थियो ।

संविधानको धारा २६९ को उपधारा ४ (ख)मा ‘विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र पदाधिकारी निर्वाचन हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्नेछैन’ भनिएको छ ।

कांग्रेसले संविधानको सोही व्यवस्था प्रयोग गर्दै आगामी भदौसम्मका लागि केन्द्रीय कार्यसमिति म्याद थप गरेको थियो । जसअनुसार भदौपछि कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने देखिएको छ ।

कांग्रेसद्वारा पछिल्लोपटक निर्धारित १४औं महाधिवेशन मिति ७–१० भदौ हो । तर, कोरोना महामारीका कारण सो मितिमा महाधिवेशन हुने सम्भावना छैन ।

कांग्रेसले १४औं महाधिवेशनका लागि भन्दै धमाधम क्रियाशील सदस्यताको काम गरिरहेको छ । हालसम्म नयाँ वितरण र पुराना नवीकरण गरी पार्टी केन्द्रीय कार्यालयमा ७ लाख ८० हजार क्रियाशील सदस्याको विवरण अनलाइन प्रणालीमा आएको कांग्रेसले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्