Logo

अदालतको फैसलापछि माधव नेपालले नयाँ दल खोल्ने



काठमाडौं, २१ जेठ । नेकपा एमालेबाट निष्काशित गरिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल खोल्ने कदमलाई तत्काल नबढाउने भएका छन् । उनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि हुने फैसला कुर्ने भएका छन् ।

नेपालले हिजो आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग भर्चुअल बैठक गरेर सुझाव लिएका छन् । सकेसम्म एमाले एकता कायमै राख्नुपर्ने धेरैको सुझाव थियो । कतिपयले अदालतको आदेशसम्म कुर्न सुझाव दिएका थिए ।

केपी शर्मा ओलीको नेतृत्व रहिरहे कम्युनिस्ट आन्दोलन नै समाप्त हुने विषय झलनाथ खनालको भनाई थियो । उनले वृहत कम्युनिस्ट पार्टी बनाएर जानुपर्नेमा जोड दिएको बुझिएको छ ।

नयाँ दल खोलेर अग्रगामी सोचका कम्युनिस्टहरुबीच एकता गरेर जान सकिने विषय पनि उठेका थिए । नेपालले पनि भविष्यमा वृहत कम्युनिष्ट पार्टी बनाउने योजनाबारे बोल्दै आएका छन् । विश्वस्त स्रोतका अनुसार माधव नेपाल नयाँ दल खोल्न तयार भइसकेको तर अदालतको फैसला कुनै पक्षमा सहमत भएका छन् । तर, ओलीसँग मिलेर बस्न नसकिने निष्कर्षमा पुगिसकेको बुझिएको छ ।

नेपालले एकताका लागि २ जेठ २०७५ को अवस्थामा फर्कने मात्र नभई नयाँ शर्तहरु पनि सारेका छन् । जसमा प्रतिनिधि सभा विघटनको निर्णयबाट पछि हट्ने देखि आत्मालोचनालगायतका विषय समेत छन् । यस्तो शर्तहरु नेपालले आफूपक्षीय मध्यमार्गी नेताहरुमार्फत् पठाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्