Logo

मुस्ताङमा १२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग



म्याग्दी, २१ जेठ: मुस्ताङमा कोरोना भाइरसबाट सङ्क्रमित र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

निवर्तमान प्रतिनिधिसभा सदस्य तुलाचनको पहलमा ‘माउन्टेन हर्ट नेपाल’ले स्वास्थ्य उपकरण सहयोग गरेको हो । अमेरिकी संस्था ‘डाइरेक्ट रिलिभ’ मार्फत उपलब्ध सामग्री बिहीबार जोमसोममा मुस्ताङका स्थानीय तहलाई उपलब्ध गराइएको थियो ।

मुस्ताडको जोमसोम अस्पताल र पाँच स्थानीय तहलाई दुई-दुई थान अक्सिजन कल्सन्ट्रेटर उपलब्ध गराइएको तुलाचनले जानकारी दिए । “अक्सिजन कल्सन्ट्रेटरले कोभिड सङ्क्रमित मात्र नभई अन्य बिरामीको उपचारमा पनि सहयोग पुग्छ”, उनले भने, “स्थानीयवासीका साथै लेक लागेर बिरामी हुने पर्यटक र तीर्थयात्रीका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।”

विदेशी संस्थाबाट सहयोग प्राप्त सामग्री हस्तान्तरणका लागि अध्यक्ष अवन गौतमसहित संस्थाका प्रबन्धक विजय पौडेल र इन्जिनीयर प्रताप अधिकारी हेलिकोप्टर चढेर मुस्ताङ पुग्नुभएको थियो । माउन्टेन हर्ट नेपालले गोर्खा, नुवाकोट र मुस्ताङमा कल्सन्ट्रेटर हस्तान्तरण गरेको जनाएको छ ।

संस्थाले केही दिनभित्रै मनाङ, म्याग्दी, रसुवा र कास्कीसहित आवश्यक पर्ने जिल्लामा अक्सिजन कल्सन्ट्रेटर हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । मुस्ताङ अस्पतालमा हालसम्म सघन उपचारकक्ष र भेन्टिलेटरको सुविधा छैन । अस्पतालमा पर्याप्त जनशक्तिसमेत नभएकाले संस्थाले प्रदान गरेको अक्सिजन कल्सन्ट्रेटर मुस्ताङका स्थानीयवासीलाई बहुउपयोगी हुने जनाइएको छ ।

अस्पतालमा न्यून क्षमताको अक्सिजन प्लान भएको र सिलिण्डरमा अक्सिजन भर्ने उपकरण नभएकाले अक्सिजन ढुवानीमा समस्या पर्दै आइरहेको छ । बर्खायामको मौसममा बाढी÷पहिरो र नदीकटानका कारण सडकको दुरावस्थाका कारण पनि अक्सिजन भरेर मुस्ताङ लैजान समस्या हुने गरेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्