कञ्चन दीक्षित : छिमेकमा एक वृद्ध र बालकले रुख रोप्दै गरेको देख्दा एकछिन नजिकै गएर हेर्न मन लाग्यो । ‘बाबु हाम्रो जीवनमा हामीले धेरै रुख रोप्नुपर्छ,’ करिब पाँच वर्षको एक बालकलाई ७० वर्ष काटेका हजरबुबा बगैंचामा रुख रोप्न सिकाउँदै थिए, ‘रुखको विरुवा तिमीजस्तै सानो हुन्छ । यसलाई राम्रोसँग समालेर यसरी खाडलमा हाल्नुपर्छ ।’ खनेर मल हालिसकेको खाडलमा रुखको विरुवा रोपेर पानी हाल्दै थिए, हजुरबुबा ।
त्यतिन्खेरै आमा बालकलाई खाजा खान बोलाउँछिन् । भोकले भुतुक्क भएको बालक हजुरबुबाबाट भाग्ने निहुँ पाएकोमा दगुर्दै आमाकहाँ पुग्छ ।
‘किन हरियाली बनाउनुपर्छ ?’ बालक फेरि प्रश्न गर्छ ।
जवाफ आउँछ, ‘यस्ले अक्सिजन दिन्छ र हामी सास फेर्न पाउँछौं ।’
कुरा त्यतिमै टुङ्गिन्छ । म आफ्नो बाटो लाग्छु ।
‘हामीले किन रुख रोप्नुपर्छ ?’ बालकको त्यो प्रश्न मेरो मनमा गढेको छ । यसो इन्टरनेटमा गएर समाचार हेरुँ भनेर लाग्दा आँखा हाम्रो वायुमण्डलमा बढ्दो कार्बनडाइअक्साइडको मात्रामा पर्छ । करिब २० वर्षअघि कक्षा १२ मा वातावरण विषय पढाउने क्रममा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ३८० पिपिएम (पार्ट पर मिलियन) भनेर पढाएको जस्तो लाग्छ । पीपीएममा वायुमण्डलको कार्बनडाइअक्साइडको मात्रा नपिने गरिन्छ । हिजोआज ४१३ पिपिएम पुगेको छ भन्दा म छक्क पर्दै हजुरबुबाले बालकलाई भनेको कुरा सम्झन थालें ।
साँच्चै नै १२ प्रतिशतले पहिलाको भन्दा कार्बनडाइअक्साइडको मात्रामा बढेको रहेछ । यदि यो २० वर्षमा विश्वभर रुखको विनाश नर्गने र अरु रुखहरु लगाएको भए कार्बनडाइअक्साइडको मात्रा यसरी डरलाग्दो रुपमा बढ्ने थिएन कि ? रुख र जलवायु परिर्वतनको प्रत्यक्ष सम्बन्ध म देखिरहेको थिएँ ।
विश्वको कुरा त परको हो, हाम्रो शहर वरपर नै हेरौं । खै कहाँ गए ती रुखहरु ?
यति धेरै नेताहरु जन्माउने यो देशले एक सही योजनाकार किन जन्माउन सकेन जसले वातावरण र विकासलाई सँगसँगै लग्न सकोस् । आजको यस युगमा घर र रुखको प्रतिस्पर्धामा बिचरा रुखले हार्नुपर्यो । जुन हाम्रा लागि दुर्भाग्यको कुरा हो ।
विकासका नाममा रुखहरु काटिन लागेको देख्दा हाम्रा अघिल्लो पुस्ताका आत्मा कति रुन्छन् होला ? उनीहरुले त रुखलाई आफ्नो दिनचर्यामा राखेका थिए । रुखबाट ठाउँको नाम राखिन्थ्यो । पिपलबोटे र खरिबोटका नाम भएका धेरै ठाउँहरु हामीले सुनेकै छौं । त्यस्तै चाडपर्व आदिमा पनि रुखको विशेष महत्त्व रहेको छ । काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुर सबै ठाउँमा मनाइने मछिन्द्रको जात्रामा रुखबाट बनेको रथ नै प्रयोग हुन्छ, मन्दिरमा प्रयोग भएका झ्याल, ढोका र टुँडालहरु सबै काठले बनेका हुन्छन् । फागु पूर्णिमामा वसन्तपुरमा गाडिनेदेखि भक्तपुरको बिस्केट जात्रमा ठडाइने लिङ्ग पनि त रुखकै हुन् ।
केही कुराको छलफल र निर्णय गर्नुपर्यो भने रुखको फेदमा बनेको चौतारामा बसेर गरिन्थ्यो । फेरि हाम्रा घरका झ्याल, ढोका, कुर्सी, टेबल आदि सबै काठकै हुन् । खै किन बिर्सेको यी कुराहरु हामीले ? के हामीले साँच्चै त्यो पाँच वर्षको बालकझैं रुखको महत्त्व नबुझेकै हौं त ?
यी प्रश्नहरु मनमा खल्दै गर्दा म टेलिभिजन खोल्न पुग्छु । फेरि प्रसङ्ग निजगढको विमानस्थल बनाउन ७,६३,४८० रुख काट्नुपर्ने रे । मनसुन आगमनको समयको गर्मीले उकुसमुकुस रात बिताउन कति गाह्रो हुन्छ हामीलाई ? तराईको आँधी, हुरी र मनसुनको चरित्रमा फेरबदल भएको देखिरहेका छौं । फेरि किन तयार छौं त यति धेरै रुख काट्न ? यति धेरै रुख काटेमा विमानस्थल बनाउन रकम त जुट्ला तर तराईको तापक्रम गर्मीको समयमा कति पुग्ने हो, त्यो पानी, जमिन र रुखमा आश्रित रहेका चरा र जनावरहरु कसरी बाँच्लान् ?
यस्ता गतिविधिले जलवायु परिर्वतनको असरहरुलाई धेरै वृद्धि गर्नेछ । बाढी, पहिरो, खडेरी, आँधीका घटना र तीव्रता रुपमा वृद्धि भइरहेको छ र अझ हुनेछ । यस्तो स्थितिमा घर बाहिर काम गरेर जीविका चलाउनेहरु कसरी बस्छन् होला त्यो गर्मीमा ? त्यो तराईको टन्टलापुर घाममा एक मात्र रुखको सहारा पाउँदाको आनन्द बुझ्न त्यही गर्मीमा बस्ने मानिसलाई सोधौं रुखको महत्त्व । जंगलको महत्त्व बुझ्न पारिस्थितिकीय प्रणालीलाई एक पटक नियालौं त । उत्तर आफैं पाउनेछौं ।
दरबारमार्ग वा भक्तपुर जाने बाटोमा रहेका रुखहरु काटिएका ठुटामा सीमित छन् । समुदायको हातमा हुँदो हो त यी ठाउँहरुमा कति हरियाली हुँदो हो ? रुखले दिने धेरै फाइदामध्ये वातावरणमा प्रदूषणको मात्रा सन्तुलन गर्नु एक हो । यसले वातावरणमा उड्ने धुलाका कणहरुलाई नियन्त्रण गर्न मद्दत गर्छ । वातावरणमा भएको कार्बनका कणहरु सोसेर कार्बनको मात्रा सन्तुलनमा राख्छ ।
के साँच्चि नै हामी फर्कन नसक्ने बाटोमा पुगेका छौं त ? माथिकै कुरा दोहोर्याउने हो भने कार्बनको मात्रा ४१३ पिपिएम पुगिसकेको छ । अबको एक मात्र उपाय भनेको रुखलाई माया गरौं । सकिन्छ भने रुख रोपौं अन्यथा भएका रुख नकाटौं । वातावरणको कार्बन सोस्न रुखभन्दा सजिलो र सस्तो उपाय केही छैन ।
कुरा आउँछ, रुख कस्ले रोप्ने त ? यो कस्को दायित्व हो ? जनावर, चरा र किराबाहेक, श्वास–प्रश्वास गर्ने सबैको दायित्व मात्र हैन, कर्तव्य पनि हो । चराले पनि त रुखको बिउ ओसारपसार गरेर हरियाली गर्न मद्दत नै पुर्याएको हुन्छ । त्यस्तै किराहरु र मौरीले पनि परागसेचन गरी मद्दत नै पुर्याएका हुन्छन् । त्यसैले अहिले पनि समय छ । रुख रोपौं र रोप्न मद्दत पुर्याऊँ ।
यसको उदाहरण कीर्तिपुरबाट शुरु भैसकेको छ, हालसालै कीर्तिपुरको मेयरले एक घर दुई विरुवाको नारा शुरु गरेको पढेको थिएँ । यस्मा सबैको भलो छ । काठमाडौं र अन्य नगरपालिकाले यही नारा पछ्याउनुपर्ने हुन्छ । अबका दिनमा त्यो सानो बालकले सोधेको प्रश्नको उत्तर दिन उनका आमाले जस्तो हामीले हिचकिचाउनु नपरोस् । रुख नै हाम्रो प्यारो साथी हो र यस्ले हामीलाई बाँच्न मद्दत गर्छ भन्ने सरल उत्तर सबैको हृदय र मुखमा सधैं आइरहोस् । Photo Source: SmartCityDehradu