Logo

ठाकुरको अर्को चुनौतीः मन्त्री बन्न नपाउनेलाई रोक्नै मुश्किल



काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा जाने निश्चित भइसकेको छ । मन्त्री बन्ने सूची समेत लगभग तयार भइसकेको छ ।

मन्त्री बन्ने सूचीमा विघटित प्रतिनिधि सभाका सांसद देखि कार्यकारिणी समितिका सदस्यहरु पनि छन् । राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, चन्दा चौधरी, उमाशंकर अरगरियासहित ८ मन्त्री र केही राज्यमन्त्री रहनेछन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरलाई मन्त्री बन्न नपाएकाहरुलाई गुट छाड्नबाट रोक्न भने कठिन छ । ४० प्रतिशत कार्यकारिणी समिति सदस्य नपुगेमा भविष्यमा पार्टी विभाजन गर्न मुश्किल पर्छ । पार्टीमा बहुमत बनाएर उपेन्द्र यादव समूहलाई हटाउने सम्मको प्रयास ठाकुरको छ । होइन भने ४० प्रतिशत पुर्याएर अर्को दल खोल्ने उनको रणनीति देखिन्छ ।

विघटित प्रतिनिधि सभा पुनःस्थापना भएमा अर्को मुश्किल छ । त्यतिबेला मन्त्री बन्न नपाएका कतिपय सांसदले गुट परिवर्तन गरिसक्छन् । त्यसैले ठाकुर पक्षलाई सरकारमा जानभन्दा गएपछि आफ्नाहरु जोगाउन कठिन छ ।

सरकारमा नजाँदै तीन कार्यकारिणी सदस्यले गुट छाडिसकेका छन् । तीमध्ये मृगेन्द्रकुमार सिंह यादव राष्ट्रिय सभाका सांसद हुन् । उनलाई सांसदमा जिताउन राजेन्द्र महतोले ठूलै भूमिका निभाएका थिए । तर, अहिले महतोको पनि साथ छाडेका छन् । नवलकिशोर शाहले पनि ठाकुर समूह छाडेका छन् । उनी प्रदेश २ का मन्त्री छन् । रामनरेश राय यादव पनि उपेन्द्र समूहमा गएका छन् । एकपछि अर्को गर्दै नेताहरुले ठाकुर समूह छाड्नुमा सम्भावित सरकारमा जाँदा मन्त्रीको विषय पनि रहेको देखिन्छ ।

यसअघि महेन्द्र राय यादव, गजाधर यादव र रमेश यादव पनि उपेन्द्र यादव समूहमा गएका थिए । महेन्द्र राय तत्कालीन राष्ट्रिय जनता पार्टीका संस्थापक नेता तथा अध्यक्षमण्डलमा थिए । ठाकुर समूहबाट धमाधम नेताहरु उपेन्द्र यादव समूहमा जान थालेपछि नेता कार्यकर्ता रोक्न मुश्किल पर्न सक्ने देखिइसकेको छ ।
यसैगरी, ठाकुर समूह सरकारमा सहभागी हुनेवित्तिकै प्रदेश २ मा ठूलै भूकम्प आउन सक्छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरिसकेका छन् । उनले मनिष सुमनलगायत ठाकुर समूहका मन्त्रीहलाई हटाएर नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

ठाकुर पक्षमा रहेका कार्यकारिणी समिति सदस्यहरु

महन्थ ठाकुर
राजेन्द्र महतो
शरत्सिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव
सर्वेन्द्रनाथ शुक्ल
वृषेश चन्द्र लाल
गोविन्द चौधरी
जीतेन्द्र प्रसाद सोनार
उमाकान्त झा
चन्दा चौधरी
लक्ष्मणलाल कर्ण
मनिष कुमार सुमन
अमृता अग्रहरी
रेशमलाल चौधरी
केशव कुमार झा
अकवाल अहमद शाह
निर्जला राउत
सुनिल कुमार झा



प्रतिक्रिया दिनुहोस्