परासी, २१ जेठ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड–१९ सङ्क्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन् । आगामी अक्टुबरपछि आउने तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्र्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उनले बताए ।
गृहजिल्ला नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को परासीमा आज पत्रकारहरुसँग मन्त्री त्रिपाठीले ५० लाख खोप दिने निर्णय गरेको भन्दै अमेरिकी सरकार र नेपालस्थित अमेरिकी राजदूतप्रति धन्यवाद व्यक्त गरे ।
खोप उत्पादक देशहरुसँग निरन्तर संवादमा रहेको बताउँदै मन्त्री त्रिपाठीले पहिलो चरणमा खोप लगाएका नागरिकलाई दोस्रो डोज लगाउन भारतबाट थप सात लाख डोज खरिद गरी १७ लाख डोज खोप आउने सुनिश्चिता हुन लागेको जानकारी दिए । कोभिड–१९ को उपचारको औषधि नभएकाले सरकारको पहिलो प्राथमिकता खोप नै रहेको बताए । उनले आगामी चुनावसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने उल्लेख गरे ।
रसियाले पनि आगामी डिसेम्बरसम्म ८० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको जानकारी दिँदै मन्त्री त्रिपाठले ४० लाख डोज खोप तत्काल पठाउन आफूले आग्रह गरेको बताए ।
फरक प्रसङ्गमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जानकारी दिए । उनले जसपाको ठाकुर र आफ्नो समूह मिलेर नयाँ पार्टी गठन गर्न लागेको भनेर गलत प्रचार गरिएको बताए ।
मन्त्री त्रिपाठीले यही जेठ ५ गते नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको सशस्त्र प्रहरीले हत्या गरेको बताए । उक्त घटनामा सशस्त्र प्रहरीको ज्यादती र गैरजिम्मेवारपन देखिएको बताए ।
सुस्ता गाउँपालिका–५ वनकट्टीस्थित भारतीय सीमा क्षेत्रमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुँदा स्थानीय २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो । मन्त्री त्रिपाठीले मृतकको घरमा पुगी पीडित परिवारसँग घटनाबारे जानकारी पनि लिएका थिए ।-रासस/File Photo