काठमाडौं, २१ जेठ । धनुषाबाट २०७४ सालको आमनिर्वाचनमा विजयी उमाशंकर अरगरिया मन्त्री नियुक्त भएका छन् । जसपा नेता अरगरियाको परिवार काँग्रेस पृष्ठभूमिका हो । उनी मधेश आन्दोलनमा सक्रिय भएर राजनीतिमा फरक धारमा लागे ।
उमाशंकरले जसपामा रहेर पनि नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटता बनाउँदै आएका थिए । उनको महेश बस्नेतसँग गहिरो मित्रता छ ।
डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउने अपहरण भनिएको घटनामा अरगरिया पनि संलग्न थिए । उनले रेणु यादवसहित मिलेर पार्टी विभाजनको असफल प्रयास गरेका थिए । गत वर्षको वैशाख महिनामा भएको उक्त प्रयासपछि अरगरिया उपेन्द्र यादवबाट टाढिएर महन्थ ठाकुरसँग नजिकिए ।
संघीय समाजवादी फोरमबाट चुनाव जितेका अरगरिया एकतापछि जसपा बन्दा कमजोर भएका थिए । तर, जसपाभित्रको विवादले उनलाई नयाँ ऊर्जा दियो । जसपाको महन्थ ठाकुर समूहलाई प्रधानमन्त्री ओलीसँग नजिक्याउन उनले महत्वपूर्ण भूमिका खेले ।
ओलीलाई फाइदा पुग्ने गरी जसपाभित्र अरगरियाले खेलेको भूमिकाको पुरस्कारस्वरुप उनले मन्त्री पद पाएका छन् । उनलाई ओलीको चाहनाले पनि मन्त्री पदमा पुर्याएको छ ।