हुम्ला, जेठ २२ । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।
एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाको भनाई छ ।
कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताए ।
जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उनले बताए । कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले बताए ।