काठमाडौं, जेठ २३ । उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभारग्रहण लगत्तै संविधानविपरीत विवास्पद अभिव्यक्ति दिएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शनिबार पदभार ग्रहणलगत्तै संविधानको मर्म र प्रस्तावनाविपरीत हुनेगरी नेपाललाई बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने अभिव्यक्ति दिएका हुन् ।
सो अभिव्यक्तिको चौतर्फी विरोध र आलोचना भएको छ । देशको सार्वभौमिकताविपरीत अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री महतोलाई बर्खास्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली हालसम्म पनि यो विषयमा मौन बस्नुलाई आश्चर्यका रूपमा हेरिएको छ ।
विवास्पद अभिव्यक्तिपछि चौतर्फी आलोचना खेपिरहेकै बेला पुनः दिउँसो जनता समाजवादी पार्टी ९जसपा० महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि पनि उनले ‘नेपाल बहुल राष्ट्रिय राज्य भएको’ जिकिर गरेका छन् । ‘बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानुन, संविधान र सहभागिता हुनुपर्ने’ उनको तर्कसमेत छ ।
‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन, सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ,’ उनले भने, ‘यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’
संविधान नै अपुरो रहेको जिकिर गर्दै महतोले ‘देशमा कुनै समस्या छैन भन्नु जनतालाई धोका दिनु रहेको’ उल्लेख गरे । ‘यदि कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो,’ उनले भने ।
उपप्रधानमन्त्री महतोको विवास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतम, पूर्वमन्त्रीहरू योगेश भट्टराई, गोकर्ण विष्ट, एमालेका विभिन्न १८ जनसंगठनलगायतले विरोध गरेका छन् भने विभिन्न पार्टीनिकट जनवर्गीय संगठनले महतोको पुल्ता दहन सुरु गरेका छन् ।
महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका खनाल–नेपालपक्षका ११ विद्यार्थी नेतालाई प्रहरी पक्राउ गरेको छ । अनेरास्ववियु अध्यक्ष र महासचिवसहित ११ विद्यार्थी नेतालाई प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । राजधानी दैनिकबाट