काठमाडौं, जेठ २३ । कोरोना भाइरस संक्रमणबाट निको भएपछि नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना स्थलमा कार्यरत श्रमिक काममा फर्किन थालेका छन् । कोरोना र निषेधाज्ञामा समेत सुचारु सुरुङमार्गमा काम गर्नेमध्ये ८१ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । नेगेटिभ नतीजा आएका केही श्रमिक काममा फर्किन थालेका हुन् ।
मुख्य सुरुङ खन्ने काम भइरहेको उक्त आयोजनामा डेढ सयभन्दा बढी कामदार खटिएका छन् । तीमध्ये झण्डै आधा श्रमिकलाई कोरोना पुष्टि भएसँगै सुरुङ खन्ने कामसमेत प्रभावित भएको थियो । आयोजनाका अनुसार ६५ जना अझै संक्रमित अवस्थामै छन् भने १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका श्रमिक विस्तारै काममा फर्किन थालेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।
‘शुरूमै स्क्यानिङ, कन्ट्याक्ट ट्रेसिङ कार्य गरेकाले संक्रमण धेरै फैलन पाएन,’ आयोजना प्रमुख शाक्यले भने, ‘संक्रमित श्रमिकहरू पनि निको भएर कार्यस्थलमा फर्किन थालेका छन् । यो क्रम बढ्दो छ ।’
आगामी आर्थिक वर्ष २०७८र७९ का लागि उक्त आयोजनाले ९ अर्ब ८५ करोड बजेट पाएको छ । कुल लागत २२ अर्ब रहेको आयोजनाले आगामी आर्थिक वर्षमा ८ अर्ब खर्चने लक्ष्य राखेको भए पनि सरकारले १ अर्ब ८५ करोड बढी बजेट विनियोजन गरिदिएको छ । शाक्यले भने, ‘सरकारले विनियोजन गरेअनुसार अब ९ अर्ब नै खर्च गर्ने लक्ष्यसहित काम गरिनेछ ।’
सरकारले बजेटमार्फत सुरुङमार्गको कामलाई तीव्रता दिई २ वर्षभित्र सञ्चालन गर्न भन्दै उक्त बजेट विनियोजन गरेको हो । हालसम्म आयोजनामा १ अर्ब २० करोडभन्दा बढी खर्च भएको छ ।आर्थिक अभियान दैनिकबाट