ललितपुर, २३ जेठ । मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । मापदण्ड विपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा ओम निरमाया हेल्थकेयर प्रालि ग्वार्को महालक्ष्मी ललितपुरका २ जना संचालकलाई मापदण्डविपरीत उत्पादन गरेको २ सय ४० लिटर ह्याण्ड स्यानिटाइजर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा संचालकद्वय ललितपुर महालक्ष्मी मोरङ विराटनगर घर भएका ४४ वर्षीय अमित ताम्राकार र महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा रहेका छन् । उक्त हेल्थ केयरबाट कमसल संजिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री भइरहेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले दुवै जनालाई उक्त स्यानिटाइजर सहित पक्राउ गरेको बताएको छ ।
उनीहरूमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।