Logo

शेरधन राई नेतृत्वको सरकार धरापमा, अविश्वासको प्रस्ताव आए फ्लोर क्रस हुनसक्ने



काठमाडौं, २३ जेठ । प्रदेश १ को सरकार धरापमा परेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि सरकार धरापमा परेको हो ।

अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि माओवादी केन्द्रले राई नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ । यसअघि नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादीले समर्थन कायमै राखेको थियो ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई रहेको समर्थत फिर्ताको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।

माओवादीले राई नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिनुमा सत्ता संघर्ष नै कारण हो । अब राईलाई हटाएर सम्भवत प्रदेश १ मा काँग्रेस नेतृत्वको सरकार गठनको तयारी भएको छ ।

प्रदेश १ मा सभामाुखबाहेक ९१ सदस्य छन् । एमालेको स्पष्ट बहुमत छ । एमालेका ५१ प्रदेश सभा सदस्य छन् । एमालेको माधव कुमार नेपाल समूहका १५ भन्दा बढी प्रदेश सभा सदस्य छन् ।

नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ गरी कुल ९२ सदस्य छन् ।
काँग्रेस, माओवादी र जसपाको सदस्य संख्या जोड्दा ३९ सदस्य पुग्छ । बहुमतका लागि ४६ आवश्यक पर्छ । माधव नेपाल पक्षका ७ भन्दा बढीले फ्लोर क्रस गर्नसक्ने भएपछि विपक्षी गठबन्धन उत्साही भएका हुन् ।

अविश्वासको प्रस्ताव अगाडि बढेमा फ्लोर क्रस हुने सम्भावना भएपछि मुख्यमन्त्री राई शतर्क भएका छन् । उनले विश्वासको मत लिने रणनीति अगाडि सार्ने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot