Logo

निषेधाज्ञाले आँपको बजार प्रभावित हुँदा किसान समस्यामा



काठमाडौं, जेठ २४। निषेज्ञाले गर्दा आँपको बजार प्रभावित हुँदा आँप उत्पादक किसान तथा व्यवसायी समस्यामा परेका छन् । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञाका कारण आँप उत्पादक किसान तथा व्यवसायीलाई सहज रूपमा आँप बजारसम्म पुर्‍याउन समस्या परेको छ ।

अहिले मालदह, कलकतिया, सिरीह, बम्बई, किसुनभोग, दशहरिलगायत जातका आँपको सिजन शुरू भइसकेको छ । तर, यसवर्ष आँपले अघिल्ला वर्षहरूमा झैं बजार पाउन सकेको छैन । यही कारणले गर्दा किसानहरूले समस्या भोग्नुपर्ने अवस्था आएको हो ।

सिराहा कृषि ज्ञानकेन्द्रका प्रमुख किसुन देव राउतले निषेधाज्ञाका कारण आँपले राम्रो बजार पाउन नसकेको बताए । सामान्य अवस्थामा उत्पादक किसानहरूले आफूले उत्पादन गरेका आँप आफैले स्थानीय बजारसम्म लगेर विक्री गर्ने गथे ।

तर, जारी निषेधाज्ञाका कारण स्थानीय हाट बजारहरू बन्द भएकाले त्यसरी बेच्न नसकिएको उनको गुनसो छ । फलफूल पसलहरू पनि बिहान बेलुका मात्र खुल्ने भएकाले आफ्नो उत्पादन सजिलै बेच्न सक्ने वातावरण नभएको उनले सुनाए ।

सिराहा र सप्तरी जिल्लामा मात्रै करीब १५ हजार ६ सय हेक्टर जमीनमा आँप खेती गरिन्छ । यो वर्ष अफ सिजन भएकाले र असिना पानीका कारण उत्पादन पनि गतवर्षको तुलनामा घटेको सिराहा कृषि ज्ञानकेन्द्रले जानकारी दिएको छ ।

गतवर्ष यी दुई जिल्लामा प्रतिहेक्टर १५ देखि २० मेट्रिकटन आँप फलेको थियो भने यसवर्ष उत्पादन घटेर प्रतिहेक्टर साढे ५ मेट्रिक टन मात्रै फलेको छ । एकातर्फ उत्पादन घटेको छ भने अर्कातर्फ भएको उत्पादन पनि राम्ररी बजारमा बेच्न पाइएको छैन । त्यसैले आफूहरू समस्यामा परेको सिराहा र सप्तरी जिल्लाका किसानहरूले बताएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्