काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन् । ओलीको प्रस्तावमा असन्तुष्ट पक्ष सकारात्मक बनेको छैन् । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको भर्चुअल माध्यमबाट बैठक जारी छ ।
उनीहरुले ओलीले एकताको लागि भन्दापनि अलमलाउनको लागि जालझेल गर्न यो प्रस्ताव ल्याएको निश्कर्ष निकालेका छन् । योगेश भट्टराईले भने ओलीको प्रस्तावको स्वागत गर्दै सकारात्मक भनेका छन् । तर, अधिकांश नेताहरुले भने ओलीको प्रस्तावलाई अस्विकार गर्ने बताईसकेका छन् ।
आजै नेपाल पक्षधले ओलीलाई लिखित जवाफ दिने पनि तयारी गरेको छ । ओलीको प्रस्तावले एमालेभित्र मात्रै नभएर कांग्रेस र माओवादी केन्द्रमा पनि हलचल भएको छ । आज विहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता नेपाललाई कोटेश्वरमा पुगेर भेटेका छन् ।
उक्त भेटमा ओलीले एकताको लागि अदालतमा नेपाल पक्षधर सांसदहरुले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेको विषयमा छलफल भएको थियो । नेता नेपालले भने प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उल्लेख गर्दै कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडान राखेका छन् ।
उनले दाहालसँग पनि यही कुरा गरेका हुन् । स्रोतकाअनुसार नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनबाटै आफ्नो कुरा राखेका छन् । उनले देउवालाई कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिईने विश्वास दिलाएका छन् । कतिसम्म भने नेता नेपालले आफू वचनको पक्का नेता भएकोले यसबाट दायाँबायाँ नहुने भन्दै ढुक्क हुन देउवालाई भनेका थिए ।
नेता नेपालसँगको भेटवार्तापछि दाहाल देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए । दाहाल र देउवाबीच पनि यही विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । अहिले नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । आजै उनीहरुको एउटा धारणा आउने बुझिएको छ ।
File Photo/ReportersNepal