Logo

‘ओलीको एकता प्रस्ताव सत्ता टिकाउने चाल मात्र’ भएको नेपाल-खनाल पक्षको निष्कर्ष



काठमाडौं, २४ जेठ । नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्ताव सकारात्मक मनशायले नआएको निष्कर्ष निकालेको छ । आज बसेको उक्त समूहको बैठकले एकता प्रस्तावको नियतमाथि समेत शंका गर्ने ठाउँ रहेको निष्कर्ष निकालेको हो ।

नेपाल-खनाल पक्षका नेता भीम रावलले एकता गर्ने मनशायले प्रस्ताव नआएको बताए । यद्यपि, उनले आफूहरु जहिले पनि एकताको पक्षमा रहेको स्पष्ट पारे ।

ओलीले आइतबार ६ बुँदे एकता प्रस्ताव सारेका थिए । जसअनुसार माधवकुमार नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि गरेको प्रस्तावबाट पछि हट्नुपर्ने र त्यसपछि २ जेठ २०७५ को अवस्थामा पार्टीको संरचना र संगठनलाई लगिने उल्लेख छ ।

आज बसेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीले सत्ता टिकाउने चाल मात्र चलेको भन्दै सतर्क हुनुपर्नेमा जोड दिएका थिए । यद्यपि, नेपाल-खनाल पक्षले ओलीको एकता प्रस्तावको लिखित जवाफ सार्वजनिक गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्