काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि अघि सारेको ६ बुँदे प्रस्तावलाई माधव नेपाल पक्षले अस्विकार गरेको छ । आज बसेको नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।
बैठकमा सहभागी नेता भीम बहादुर रावलले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने–‘ओलीको एकताको प्रस्ताव मान्दैनौं । यो एकताको लागि आएको प्रस्ताव नै होईन । हामीलाई झुक्याउनको लागि आएको हो । यसमा जालझेल र षड्यन्त्र छ ।’
नेता रावलले आजको बैठकपछि निकालिएको निश्कर्षसहित अहिले केही बेरमै ओलीलाई लिखित जवाफ पठाउने तयारी गरिएको पनि जानकारी दिए । त्यस्तै, ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन गरेको प्रस्तावलाई पनि आफूहरुले अस्विकार गरेको नेता रावलले जनाए ।
उनले भने,‘हामी आफ्नो निर्णयमा अडिग छौं। ओलीको शर्त मान्दैनौं । वक्तवयमा जालझेल र षड्यन्त्र छ । आफ्नो गुटलाई बलियो बनाउन चाहने ओलीको योजना देखियो । साँच्चिकै एकता चाहेको हो भने पूरानो कमिटी फर्किनुपर्छ, यो नेकपा हुँदाको कमिटी होईन् । जनसंगठनको विषयमा पनि जालझेलमात्रै गरिया, यो ओलीको हामीलाई झुक्याउने अस्त्र हो ।’
यद्धपी उनले आफूहरु एकता विरोधी नभएको स्पष्ट पारे । एकताको लागि यसअघि माधव नेपालले अघि सारेको ६ बुँदे प्रस्ताव ओलीले मान्नुपर्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर माफी माग्नुपर्ने रहेको नेपाल पक्षको शर्त छ । file photo/ReportersNepal