काठमाडौं, २४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्तावलाई माधवकुमार नेपाल पक्षले अस्वीकार गरिदिएपछि पार्टी विभाजन निश्चितप्रायः भएको छ । आज नेपाल पक्षीय स्थायी कमिटी बैठकले ६ बुँदे प्रस्तावको गम्भीर समिक्षा गरेपछि अस्वीकार गरेको हो ।
एमालेको नेपाल पक्षका नेता युवराज ज्ञवालीले एकताको प्रस्तावमाथि आशंका व्यक्त गरे । उनले जालझेलपूर्ण तरिकाले प्रस्ताव आएको टिप्पणी गरे । उनले भने,‘एकताको मनशाय हुन्थ्यो भने त्यतिबेला किन मानिएन ?’
ओलीले फुटाउने उद्देश्यले पछिल्लो प्रस्ताव ल्याएको ज्ञवालीको आरोप छ । उनले आफूहरु निकै अगाडि बढिसकेकाले नरोकिने स्पष्ट पारे ।
पार्टी एकताका लागि ओलीले आत्मालोचनासहित प्रतिनिधि सभा विघटनको निर्णयबाट फिर्ता हुनुपर्ने शर्त समेत रहेको नेपाल पक्षका नेता ज्ञवालीले बताए । ओलीले २ जेठ २०७५ को अवस्थामा पार्टीको संगठन र संरचनालाई फर्काउने शर्तसहितको प्रस्ताव राखेका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता गर्नुपर्ने उनको शर्त छ । तर, नेपाल पक्षले पनि प्रतिनिधि सभा विघटनको प्रस्ताव फिर्ता लिई माफी माग्नुपर्ने शर्त अगाडि सार्ने नेता ज्ञवालीले बताए ।
६ बुँदे एकताको प्रस्ताव नेपाल पक्षले अस्वीकार गरेपछि एमाले एकता नहुने भएको छ । अब एकताको लागि दुवै पक्ष कि शर्तबाट पछि हट्नुपर्ने कि दुवैमध्ये एकको शर्त अर्कोले मान्नुपर्ने अवस्था बनेको छ ।