Logo

माधव नेपाल आक्रामक, देउवा र प्रचण्डसँग मिलेर प्रदेशमा सत्ताको नयाँ रणनीति



काठमाडौं, २४ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेका नेपालले प्रचण्डसँगै बसेर देउवासँग केन्द्र देखि प्रदेशसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रणनीतिबारे छलफल गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्टले विश्वासको मत मङ्गलबार लिन लागेकोमा गठबन्धन बनाएर सफलता हासिल गर्नेबारे तीन नेताले छलफल गरेका हुन् । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव बढाएर पृथ्वी सुब्बा गुरुङ्गलाई हटाउने रणनीतिबारे पनि छलफल भएको बुझिएको छ ।

प्रदेश २ मा जसपासँग सत्ता गठबन्धन गर्नेबारे पनि तीन नेताले छलफल गरेको बुझिएको छ । जसपाको महन्थ ठाकुर समूह केन्द्र सरकारमा सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले उनीनिकट ३ मन्त्रीलाई पदबाट हटाएका छन् । अब प्रदेश २ मा राउत नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना देखिएको छ । त्यतिबेला नयाँ गठबन्धन बन्ने अवस्था निर्माण भएको छ ।

यसैगरी, प्रदेश १ मा माओवादी केन्द्रले मुख्यमन्त्री शेरधन राईलाई समर्थन फिर्ता लिएको छ । अब उक्त प्रदेशमा पनि विरोधी गठबन्धनले राईलाई हटाउने रणनीति बनाइसकेको छ । त्यसबारे पनि गठबन्धनका शिर्ष नेताले छलफल गरेका छन् ।

यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल खेमालाई एकताको ६ बुँदे प्रस्ताव गरेपछि उत्पन्न परिस्थितिबारे पनि नेताहरुबीच छलफल भएको छ । नेपालले देउवालाई यताउता नहुने भन्दै आश्वस्त रहन भनेको बुझिएको छ । गठबन्धन अझ बलियो बनाएर जानेबारे तीन नेताबीच छलफल केन्द्रित भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot