काठमाडौं, जेठ २५ । जीवन बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई ८ अर्ब ७१ करोड ५० लाखभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ ।
बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई त्यस बराबरको कर्जा प्रवाह गरेको देखिएको हो । गत वैशाख २ गतेसम्ममा कम्पनीहरूले त्यस बराबरको कर्जा प्रवाह गरेका हुन् ।
हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा निजीक्षेत्रका १८ कम्पनीले अभिकर्तालाई त्यस बराबरको कर्जा प्रवाह गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले भने यससम्बन्धी तथ्यांक बीमा समितिमा पेश गरेको छैन ।
समितिले बीमा अभिकर्ताहरूलाई नयाँ कर्जा दिन रोक लगाएर प्रवाहित कर्जा पनि असुल गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो जसको अभिकर्ताहरूले विरोध गरेका छन् ।
बीमा समितिले गत वैशाख २ गते एक परिपत्र जारी गर्दै अभिकर्तालाई कर्जा दिन रोक लगाएको थियो भने प्रवाहित कर्जा असारभित्र नै असुल गर्न निर्देशनसमेत दिएको थियो ।
अभिकर्तालाई कर्जा प्रवाह गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्र स्थानमा देखिएको छ । कम्पनीले अभिकर्ताहरूलाई रू। ५ अर्ब ४१ करोड ६८ लाख कर्जा दिएको छ । दोस्रोमा नेशनल लाइफले रू। १ अर्ब ८३ करोड ३७ लाख कर्जा प्रवाह गरेको छ । अन्य कम्पनीहरूले भने १ अर्ब रुपैयाँभन्दा कम मात्रामा कर्जा प्रवाह गरेका छन् । राजधानी दैनिकबाट