काठमाडौं, जेठ २५ । पुष्प व्यवसायमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेपछि यस व्यवसायमा आबद्ध करीब २० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल जारी गरिएको निषेधाज्ञाका कारण समग्र पुष्प व्यवसाय ठप्प हुँदा यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेको हो । व्यवसाय नै ठप्प भएर कामदारलाई तलब दिन नसक्ने अवस्था सृजना भएपछि रोजगारी गुम्ने क्रम बढेको हो ।
निषेधाज्ञाका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेस, मन्दिर बन्द छन् भने भोजभतेरलगायत कार्यक्रमसमेत बन्द रहेका छन् । यसले गर्दा फूलको कारोबार पनि ठप्प भएको छ । वैशाख र जेठमा विवाह व्रतबन्धजस्ता कार्यक्रम बढी हुने भएकाले फूलको कारोबार पनि बढी हुने गर्थ्यो । तर, अहिले व्यवसायीका फार्म र नर्सरीमा फुलेका फूलले बजार पाएका छैनन् ।
फ्लोरी कल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार नेपालको पुष्प व्यवसायमा वार्षिक २ अर्ब ६० करोड रुपैयाँभन्दा धेरैको कारोबार हुने गर्छ । यही आधारमा हिसाब गर्ने हो भने हाल देशभरिको पुष्प व्यवसायमा दैनिक करीब १ करोड रुपैयाँ बराबरको क्षति भइरहेको उनको अनुमान छ । आर्थिक अभियान दैनिकबाट