Logo

निर्देशिका संशोधनः स्नातकबिनै राजदूत



काठमाडौं, जेठ २५ । वर्तमान सरकारले आफैंले बनाएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका राजनीतिक नियुक्तिलाई सहज हुने गरी संशोधन गरेको छ।

कूटनीतिक नियोग प्रमुख हुन महत्वपूर्ण मानिने शैक्षिक योग्यतासम्बन्धी प्रावधानलाई संशोधन गरेर मन्त्री भइसकेका व्यक्ति स्नातक तह उत्तीर्ण नगरेको भए पनि राजदूतमा नियुक्त हुन सक्ने व्यवस्था गरिएको हो। यसअघि निर्देशिकामा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको व्यक्तिमात्र राजदूत हुन सक्ने प्रावधान थियो।

निवर्तमान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहल र अग्रसरतामा निर्माण गरिएको ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५’ उनी मन्त्रिपरिषद्बाट बाहिरिनुभन्दा केही समयअघि मात्र संशोधन गरिएको हो।

विगतको अभ्यासलाई परिवर्तन गर्दै योग्य मान्छेलाई मात्र कूटनीतिक नियोगमा नियुक्त गर्ने उद्देश्यले निर्माण गरिएको निर्देशिकालाई पूर्ण रूपमा कार्यान्वयन नहुँदै पुनः विगतकै परम्परालाई निरन्तरता दिनेगरी संशोधन गरिएको हो।

ज्ञवालीले निर्देशिका निर्माणमा अग्रसरता लिए पनि राजदूत नियुक्तिसम्बन्धी प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीको तजबिजीका कारण त्यसको कार्यान्वयन गर्न सकेका थिएनन्। अन्ततः उनी प्रधानमन्त्री ओलीको स्वार्थअनुसार उक्त निर्देशिका संशोधन गरेर मन्त्रिमण्डलबाट बाहिरिएका हुन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्