Logo

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान



लमजुङ, २५ जेठ: कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर त्यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो ।

बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार जिल्लाको उच्च भेग तथा नदीको नजिक भएको भेगमा रोपाइँ हुन थालेको छ । विषेशगरी यतिबेला जिल्लाको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु, बाहुनडाँडालगायत जिल्लाको माथिल्लो भेगमा रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । घेर्मुका घनश्याम घलेका अनुसार घेर्मुफाँटमा सिँचाइको सुविधा भएसँगै कोरोना सङ्क्रमणका बीच पानी भएको बेला धान रोप्न शुरु भएको छ ।

उनले भने, “यस फाँटमा दैनिक छ÷सात जना किसानको रोपाइँ हुने गरेको छ भने एउटै मेलामा ३५-४० जना खेताला हाल्दै आएको छ । आइतबारबाट शुरु गरेको थिएँ, मेरो १० रोपनी जग्गामा आज रोपाइँ सम्पन्न हुन्छ ।” त्यसपछि पर्म तिर्नका लागि अरुको रोपाइँमा जाने घलेले बताए । उनीसहित थमनबहादुर घले, पूर्ण घले, किसान गुरुङलगायतका किसानले रोपाइँ गरिरहेका छन् । सङ्क्रमण तीव्ररूपमा फैलिरहे पनि त्यहाँ रोपाइँमा भने कसैले पनि मुखमा मास्क प्रयोग गरेका छैनन् । स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम भएको छैन ।

स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने भनिए पनि वर्षायाममा खेतबारीमा धेरै किसानका बीच धान रोपाइँ गर्दा जोखिम भने रहने किसानको भनाइ छ । कोरोना सङ्क्रमण जोखिमको चिन्ताभन्दा धान रोपाइँ गर्नुको चिन्ताले यतिखेर किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् । यसबाहेक पनि सुन्दरबजार दुराडाँडामा समेत केही दिनमै रोपाइँ शुरु गर्ने तयारी भएको छ । त्यस्तै बेँसीशहर नगरपालिका–११ रामचोक फाँटमा रोपाइँको तयारी भइरहेको र यतिबेला बाँझो जमिन जोत्ने काममा किसान व्यस्त भइरहेको स्थानीयवासी ईश्वरराज सेढाईँले बताए ।

क्व्होलासोथर गाउँपालिका–९ का वडाध्यक्ष राजु गुरुङले भने, “चार-पाँच दिनपछि घाम्राङबेँसीमा किसानले धान रोपाइँ गर्ने तयारी गरिरहेका छन् । अब यहाँका किसानलाई धान रोप्न भ्याइनभ्याइ हुनेछ ।”। जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

त्यहाँका किसानले जेठोबूढो, सावित्री, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्ले, उन्नत जातहरु मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस–३१२, उपज, वर्षे ३००४ लगायत वर्णसङ्कर जातका धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार गत वर्ष जिल्लामा १४ हजार २८० हेक्टर क्षेत्रफल जमीनमा गरिएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा बर्सेनि धान उत्पादनमा वृद्धि भइरहेको छ । यस वर्षसमेत समयमै पानी परेमा धान वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । यद्यपि कोरोना सङ्क्रमणको जोखिमले राम्रोसँग धानखेती गर्न सकिने अवस्था हुन्छ कि हुँदैन भन्ने चिन्तामा भने रहेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्