काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १७ प्रदेश सभा सांसदले भोट क्रस गरेका छन् । उनीहरुले पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री त्रीलोचन भट्टको पक्षमा मतदान गरे ।
पक्षमा मतदान गर्नेमा मन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता प्रकाश शाहसहित माधव नेपाल खेमाका सांसदहरु छन् । सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलमा नेपाल समूहको स्पष्ट बहुमत छ ।
यसअघि एमाले प्रदेश सभा सांसदहरुले कर्णालीमा भोट क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए ।
आज सुदूरपश्चिममा नेपाली काँग्रेस योजनावद्ध तरिकाले तटस्थ बस्यो । जसपाका २ प्रदेश सांसदले भने विपक्षमा मतदान गरेका थिए ।
सुदूरपश्चिममा सभामुखसहित नेकपा एमालेका २५ सांसद छन् । जसमध्ये ७ जनामात्र प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ हुन् ।