रुकुम पश्चिम, जेठ २६ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ काँडास्थित बुरामष्टको मन्दिरमा आइतबार राति चोरी भयो। मन्दिरबाट तीन लाख पाँच सय ४० रुपैयाँ नगद, दुई तोला सुन, चार तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भए। मन्दिरको उत्तरतर्फको गेट फोडेर चोरी भएको बुरामष्ट क्षेत्र विकास कोषका अध्यक्ष ध्रुवराज केसीले जनाए। यसभन्दा अघि डोल्पाको विकट क्षेत्र मानिने काइके गाउँपालिका–१, टाछिङस्थित जंगलको बीचमा रहेको खागर बौद्ध गुम्बाबाट मूर्तिहरू चोरी भएका थिए।
तीन÷चार सय वर्ष पहिला राखिएका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएका वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले बताए। चैत २४ गते स्थानीय उक्त मन्दिरमा गएर पूजाआजा गरेका थिए। त्यसको एक महिनापछि स्थानीय घेगा पर्वमा लिंग चढाउन जाँदा मूर्ति हराएको थाहा भएको उनले बताए। ‘चैतमा पूजाआजा गरेर गाउँले फर्किएका थिए,’ उनले भने, ‘पर्वको समयमा लिंगो हाल्न जाँदा ढोका खुला अवस्थामा थियो।’ भित्र गएर हेर्दा पुरातात्विक महत्व बोकेका मूर्ति हराएको उनको भनाइ।
मन्दिरको ढोका फोरेर मूर्ति चोरी भएको प्रहरीले जनाएको छ। धार्मिक आस्थाको धरोहर मानिने यो मन्दिर गाउँभन्दा करिब चारघण्टा टाढा जंगल बीचमा छ। ‘मन्दिरभन्दा नजिक चारघण्टा दुरीमा कोलागाउँ पर्छ,’ वडाध्यक्ष लामाले भने, ‘मन्दिरमा असुरक्षाका कारण मूर्ति चोरी भयो।’ यहाँ प्रत्येक वर्ष भदौ ११ गतेदेखि तीन दिनसम्म मेला लाग्ने स्थानीयको भनाइ छ। यसभन्दा अघि करिब २० वर्ष पहिला पनि यी मूर्ति चोरी भएका थिए।
हराएको भोलिपल्ट मन्दिर नजिकै मूर्ति फेला परेका थिए। ‘साउनरभदौमा गोठालोले पत्ता लगाएको थियो,’ उनले भने, ‘हराएको कुरा तत्कालै थाहा पाएपछि खोजी सुरु गरिएको थियो। यसपालि भने कहिले हरायो भन्ने नै थाहा नभएको र चोरी गर्ने भागेको भए समस्या हुने स्थानीयको भनाइ छ। हराएका मूर्ति मान्छेभन्दा ठूला भएको वडाध्यक्ष लामाले जनाए।
सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयहरू बताउँछन्। यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरूको माग छ। मूर्ति चोरीका विषयमा अनुसन्धान भइरहेको डोल्पाका प्रहरी निरिक्षक हरिराम डाँगीले जनाए। ‘केही व्यक्ति शंकाको घेरामा आएका छन्,’ उनले भने, ‘हामीले ति व्यक्तिहरूलाई सोधपुछ गरिरहेका छौं।’ मन्दिरहरू बस्तीभन्दा टाढा हुँदा बढी असुरक्षित हुने गरेको उनको भनाइ छ। मन्दिरबाट मूर्तिलगायत बहुमूल्य धातु चोरी गरेर विदेशसम्म लिने गरेको पाइन्छ।
कर्णालीका धार्मिक मन्दिरहरूको अवस्था कस्तो स्थितिमा छन् यसको लेखोजोखा छैन। नागरिक दैनिकबाट